दशैँ लागेपछि नेपालबाट पूर्णतः हट्याे मनसुन, बर्खा सकिएपछि घमाइलाे हुने भयाे पर्व
काठमाडाैँ । नेपालबाट यस वर्षको मनसुन पूर्णरुपमा बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज असोज २८ गतेदेखि देशका सबै भूभागबाट मनसुनको अन्त्य भएको हो ।
सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको मनसुनका कारण यस पटक वर्षाको चक्र केही प्रभावित भए पनि समग्रमा औसत वर्षा रेकर्ड गरिएको छ ।
यस वर्ष नेपालमा जुन १९ अर्थात् असार ५ गते मनसुन प्रवेश गरेको थियो । सामान्यतया अक्टोबर २ मा बाहिरिने यो प्रणाली यसपटक भने ढिलाइको रेकर्ड राख्दै अघि बढ्यो । असोज १७ गतेदेखि नै पश्चिमी तथा उत्तरी भूभागबाट मनसुन क्रमशः बाहिरिन सुरु भएको थियो ।
मौसमविद्हरूका अनुसार सामान्यतया १३ जुनदेखि सुरु हुने मनसुन चक्र यसपटक लम्बिन पुगेको छ ।
मनसुन अवधिभर देशैभरिको समग्र तथ्याङ्कलाई हेर्दा सरदरकै हाराहारीमा वर्षा भएको महाशाखाले जनाएको छ ।
यद्यपि, भौगोलिक विविधताका कारण वर्षाको मात्रामा भने निकै भिन्नता देखिएको छ । तराई र पहाडका अधिकांश क्षेत्रमा सामान्य वर्षा हुँदा यस वर्ष हिमाली भूभागमा भने अपेक्षाकृत बढी वर्षा भएको तथ्याङ्कले देखाएको छ ।
मनसुन पूर्णरुपमा निस्केर गएसँगै अबको केही दिन मौसम पूर्णतया सफा र घमाइलो बन्ने भएको छ ।
पहाडी भेगका केही सीमित स्थानमा एकाध ठाउँमा मात्र छिटपुट वर्षाको सामान्य सम्भावना देखिए पनि समग्रमा आउँदै गरेको दशैं पर्वको समयमा मौसम खुल्नेछ । यसले दशैंको चहलपहल र यात्रालाई थप सहज र रमाइलो बनाउने विश्वास गरिएको छ ।

















