भारतमा हुन्डाई मोटर ग्रुपले साढे १५ अर्ब डलर लगानी गर्ने घाेषणा
सन् २०२६ देखि २०३२ सम्म भारतमा १५ अर्ब ५० करोड डलर लगानी गर्ने घोषणा गर्दै हुन्डाई मोटर ग्रुपले उत्पादन क्षमता र अत्याधुनिक प्रविधि अनुसन्धानलाई थप सुदृढ पार्ने भएको छ।
काठमाडाैँ । हुन्डाई मोटर ग्रुपले सन् २०२६ देखि २०३२ सम्मको अवधिमा भारतमा १५ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। यो सात वर्षको लगानी योजना अन्तर्गत कम्पनीले आफ्नो उत्पादन क्षमता, अनुसन्धान तथा विकास (आरएन्डडी) पूर्वाधार र स्थानीय आपूर्तिकर्ता सञ्जाललाई विस्तार गर्नेछ।
मंगलवार सार्वजनिक गरिएको यो लगानी योजना अक्टोबर १३ मा नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा हुन्डाई मोटर ग्रुपका कार्यकारी अध्यक्ष युइसुन चुङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि बाहिर आएको हो।
यो दीर्घकालीन लगानीले हुन्डाई मोटर इन्डिया र किा इन्डियाको उत्पादन क्षमता विस्तार गर्नुका साथै स्थानीय आपूर्तिकर्ताहरूको विकास, अटोमोटिभ प्रविधि र नयाँ मोबिलिटी व्यवसायहरूलाई समेट्नेछ।
यी क्षेत्रहरूमा लगानी र साझेदारीबीच समन्वय गर्न समूहले भारतमै एउटा छुट्टै लगानी निकायसमेत स्थापना गर्ने भएको छ। भेटका क्रममा कार्यकारी अध्यक्ष चुङले भारत विश्वभर हुन्डाई मोटर ग्रुपका लागि सबैभन्दा महत्वपूर्ण र रणनीतिक बजारमध्ये एक भएको बताए।
विगत ३० वर्ष भारतप्रतिको प्रतिबद्धतामा आधारित रहेको उल्लेख गर्दै उनले यो लगानीले आगामी ३० वर्ष र त्यसभन्दा पछाडिसम्मका लागि भारतप्रतिको प्रतिबद्धतालाई फेरि पुष्टाई गरेको बताए। यो लगानीले नयाँ रोजगारीका अवसर सिर्जना गर्नुका साथै देशको औद्योगिक विकासमा पनि टेवा पुर्याउने उनको भनाइ छ।
स्थानीयकरणलाई प्राथमिकता
हुन्डाई मोटर ग्रुपले अत्याधुनिक अटोमोटिभ प्रविधि विकास गर्न र स्थानीय इन्जिनियरिङ क्षमता बलियो बनाउन सवारीसाधन परीक्षण ट्र्याक लगायतका पूर्वाधारसहित आफ्नो भारतीय अनुसन्धान तथा विकास केन्द्रमा करिब ७० करोड अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ।
आन्तरिक माग धान्न र भारतलाई निर्यातको मुख्य आधारका रूपमा थप बलियो बनाउन समूहले हुन्डाई मोटर इन्डिया र किा इन्डिया अन्तर्गतको उत्पादन क्षमता पनि विस्तार गर्नेछ। यसका साथै यसको आपूर्तिकर्ता विकास कार्यक्रमले पार्टपुर्जाको स्थानीयकरण बढाउन र क्षेत्रीय आपूर्तिकर्ताहरूसँगको साझेदारी निर्माणमा ध्यान केन्द्रित गर्नेछ।
उत्पादन र अनुसन्धान बाहेक, समूहले विद्युतीय सवारीसाधनको चार्जिङ पूर्वाधार, विशेष अटोमोटिभ फाइनान्सिङ र पुराना सवारीसाधनको पुनर्चक्रण जस्ता उदाउँदो मोबिलिटी व्यवसायहरूमा पनि लगानीको सम्भावना खोजी गर्नेछ।
साथै, यसले स्टार्टअपहरूलाई सहयोग गर्ने र आफ्नो मुख्य सवारी व्यवसायसँग जोडिएका मोबिलिटी सेवाहरूलाई पनि विस्तार गर्ने योजना बनाएको छ।
हाल भारतमा हुन्डाई मोटर ग्रुपमा २४ हजारभन्दा बढी मानिसले रोजगारी पाएका छन् भने यो प्रस्तावित लगानीले उत्पादन, इन्जिनियरिङ, अनुसन्धान तथा आपूर्ति शृंखलाका साथै आपूर्तिकर्ता साझेदारी र नयाँ मोबिलिटी उद्यमहरूमा थप रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।
वार्षिक १४ लाखभन्दा बढी सवारीसाधन बनाउने
हुन्डाई मोटर ग्रुपसँग हाल भारतमा चेन्नई र पुणेमा हुन्डाई मोटर इन्डियाद्वारा सञ्चालित सुविधाहरू तथा आन्ध्र प्रदेशको अनन्तपुरमा रहेको किा इन्डियाको प्लान्टमार्फत वार्षिक १४ लाखभन्दा बढी सवारीसाधन उत्पादन गर्ने क्षमता रहेको छ।
जसमध्ये हुन्डाई मोटर इन्डियाको चेन्नई सुविधाको क्षमता वार्षिक ८ लाख २४ हजार युनिट छ भने पुणे सुविधाको क्षमता १ लाख ७० हजार युनिट रहेको छ। यता, किा इन्डियाको अनन्तपुर प्लान्टले वार्षिक ४ लाख ३१ हजार युनिट उत्पादन गर्न सक्छ। समूहले पुणेको उत्पादन क्षमतालाई चरणबद्ध रूपमा बढाउँदै लगिने जनाएको छ।
यसैगरी, समूहले हुन्डाई मोविस, हुन्डाई ट्रान्सिस, हुन्डाई क्यापिटल, हुन्डाई विया र हुन्डाई ग्लोभिस लगायतका सहयोगी संस्थाहरूमार्फत भारतमा पार्टपुर्जा र सेवासम्बन्धी कार्यहरू पनि सञ्चालन गर्दै आएको छ।
कम्पनीका अनुसार सन् २०१६ यता समूहका प्रमुख सहयोगी संस्थाहरूले भारतमा सामाजिक कल्याण, शिक्षा, सीप विकास र समुदाय केन्द्रित कार्यक्रमहरूमा जम्मा करिब ११ करोड अमेरिकी डलर योगदान गरेका छन्।
यसैबीच, मंगलवार नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा हुन्डाई मोटर इन्डिया लिमिटेडको सेयर मूल्य १.२३ प्रतिशतले बढेर प्रति सेयर १ हजार ९ सय ६४ रुपैयाँ ९० पैसामा कारोवार बन्द भएको छ। सोही अवधिमा निफ्टी नेक्स्ट ५० इन्चले करिब ०.५० प्रतिशतको वृद्धि हासिल गर्दा विगत एक वर्षको अवधिमा भने कम्पनीको सेयर १७ प्रतिशतभन्दा बढीले घटेको छ।

















