२९ आश्विन २०८३, बिहिबार

छोटो समयमा नेपाली बजारमा अब्बल देखियाे पञ्चकन्या डिमेक्स: १ वर्षमै बेच्यो साढे ५७ करोडको झ्याल-ढोकाको प्रोफाइल



काठमाडाै । नेपालमा जर्मन प्रविधिमा आधारित उच्च गुणस्तरको रंगीन लेमिनेटेड युपिभिसी प्रोफाइल (झ्याल‍–ढोकाको फ्रेम बनाउने मुख्य संरचना) उत्पादन तथा प्रशोधन गर्ने कम्पनी पञ्चकन्या डिमेक्स प्राली छोटो समयमै बलियो पकड बनाउन सफल भएको छ।

व्यावसायिक उत्पादन सुरु गरेको तीन वर्षमै कम्पनीको कारोबारमा लगातार वृद्धि देखिएकाे हाे ।

सन् २०२४ मा १४ करोड ७० लाख रुपैयाँ बराबरको प्रारम्भिक कारोबार गरेको यस कम्पनीले २०२५ मा ३३ करोड ८० लाख रुपैयाँ र सन् २०२६ मा ह्वात्तै बढाएर ५७ करोड ४० लाख रुपैयाँको कुल आम्दानी दर्ता गराएको छ।

आम्दानीसँगै कम्पनीको सञ्चालन नाफा दरमा पनि ठूलो सुधार आएको छ। सन् २०२५ मा १९.६० प्रतिशत रहेको सञ्चालन नाफा दर सन् २०२६ मा बढेर २४.५८ प्रतिशत पुगेको छ। त्यसैगरी, कम्पनीको नगद प्रवाहको अवस्था मजबुत भई कुल नगद आम्दानी (ग्रस क्यास एक्रुअल्स) ३ करोड ३० लाखबाट बढेर १० करोड ९० लाख रुपैयाँ पुगेको छ।

ऋण भुक्तानी क्षमता सूचक (इन्ट्रेस्ट कभरेज रेसियो) २.०१ गुनाबाट सुध्रिएर ६.०१ गुना पुगेको छ भने कुल ऋण र स्वपुँजीको अनुपात (ओभरअल गियरिङ) ४.१६ गुनाबाट घटेर १.७१ गुनामा झरेको छ, जसले कम्पनीको वित्तीय स्वास्थ्य थप सबल भएको देखाउँछ।

कम्पनीले कुल ७० करोड रुपैयाँ बराबरको ऋण सुविधाका लागि केयर रेटिङ नेपालबाट रेटिङ गराएको छ। जसमा केयर रेटिङ नेपालले २९ करोड ७० लाख ९० हजार रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘डबल बि प्लस’ र ४० करोड २९ लाख १० हजार रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘ए फोर प्लस’ रेटिङ दिएको छ।

नेपालमा रंगीन युपिभिसी उत्पादन गर्ने पञ्चकन्या पहिलो उद्योग हो। सन् २०२१ अप्रिल २७ मा दर्ता भई सन् २०२३ देखि व्यावसायिक उत्पादन थालेको यस उद्योगले युपिभिसी प्रोफाइलको प्रशोधन गर्दै आएको छ।

रुपन्देहीको सियारी-२ मा अवस्थित यसको कारखानाको वार्षिक उत्पादन क्षमता ६ हजार मेट्रिक टन रहेको छ। भारतीय सीमा नजिक र भैरहवा/सुनाउली भन्सार नाकाको सहज पहुँच भएकाले कच्चा पदार्थ आयात तथा ढुवानी लागतमा कम्पनीले विशेष भौगोलिक लाभ हासिल गरिरहेको छ।

अनुभवी सञ्चालक समिति तथा चुस्त व्यवस्थापन टोलीद्वारा सञ्चालित यस कम्पनीले देशभर ५० भन्दा बढी डिलरहरूमार्फत आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएको छ।

दक्षिण कोरिया, भियतनाम, इजिप्ट, थाइल्याण्ड, ताइवान, चीन र भारत लगायतका देशबाट कच्चा पदार्थ आयात गरी युपिभिसी झ्याल-ढोकाका प्रोफाइल निर्माण गर्दै आएका कम्पनीका अगाडि तीव्र प्रतिस्पर्धा, विदेशी मुद्राको विनिमय दरमा उतारचढाव र कच्चा पदार्थको मौज्दात व्यवस्थापनजस्ता केही जोखिम भने कायमै रहेका छन्।