२९ आश्विन २०८३, बिहिबार

विपद्का बेला सिद्धार्थ प्रिमियरको अटुट साथ, तीन वर्षमा झण्डै ११ अर्ब दाबी फछ्र्योट



काठमाडौँ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरूलाई द्रुत गतिमा दाबी भुक्तानी गर्दै आएको पाइएको छ। कम्पनीले पछिल्ला तीन वर्षको अन्तरालमा विभिन्न शीर्षकअन्तर्गत कुल १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी गरेको जानकारी दिएको हो।

कम्पनीका सीईओ वीरेन्द्र बैदवार बीमितको विश्वास जित्ने र बचाउने सबैभन्दा बलियो आधार भनेको समयमै र झन्झटरहित ढंगले दाबी रकम उपलब्ध गराउनु रहेको बताउँछन्। बीमितले समयमै क्षतिपूर्ति पाएमा मात्रै बिमाप्रतिको आम जनविश्वास थप बलियो हुने उनको धारणा छ।

सीईओ बैदवारले दाबी फछ्र्योटलाई कम्पनीले सधैं उच्च प्राथमिकतामा राख्दै आएको बताए।

जेनजी आन्दोलनको ८० प्रतिशत बढी दाबी फछ्र्योट

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उत्पन्न क्षतिबाट प्रभावित बिमितहरूलाई सिद्धार्थ प्रिमियरले हालसम्म ४ अर्ब २२ करोड रुपैयाँभन्दा बढी अग्रिम तथा अन्तरिम दाबी रकम हस्तान्तरण गरिसकेको छ।

आन्दोलनका कारण कम्पनीमा कुल ४२२ वटा दाबी दर्ता भएका थिए। जसमध्ये अधिकांशको छिनोफानो भइसकेको छ भने अब ३३ वटा मात्र दाबी भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ।

त्यस घटनामा निर्जीवन बिमा क्षेत्रमै सबैभन्दा बढी सिद्धार्थ प्रिमियरको ५ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रारम्भिक दाबी दायित्व सिर्जना भएको थियो। बाँकी रहेका सीमित दाबीहरू आवश्यक कागजात अपूर्ण भएका कारण वा अन्तिम सर्भे प्रतिवेदन आउन बाँकी रहेका कारण रोकिएको बताइएको छ।

तीन वर्षमा पौने ११ अर्बको दाबी भुक्तानी

कम्पनीको तथ्यांक अनुसार पछिल्ला तीन आर्थिक वर्षमा प्राकृतिक प्रकोप, आन्दोलन र अन्य नियमित घटनाका दाबीबापत कुल १० अर्ब ७३ करोड रुपैयाँ भुक्तानी भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब १५ करोड रुपैयाँ, आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ८० करोड रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ७८ करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ।

विपद्को समयमा बलियो भरोसा बन्दै सिद्धार्थ प्रिमियर

भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेका निजी आवास, उद्योग, पूर्वाधार, व्यवसाय तथा सवारीसाधनका दाबीहरूलाई पनि कम्पनीले विशेष प्राथमिकतामा राखेको छ। सिद्धार्थ प्रिमियरले २०८१ सालमा आएको बाढीबाट भएको क्षति बापत पनि १ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ ।

नेपाल बिमा प्राधिकरणको निर्देशन तथा नीतिलाई आत्मसात् गर्दै बाढी प्रभावित क्षेत्रका योग्य बीमितहरूलाई छिटो र पारदर्शी रूपमा आर्थिक राहत पुर्‍याउन कम्पनीको दाबी व्यवस्थापन संयन्त्र सक्रिय रूपमा लागिरहेको सीईओ बैदवारले उल्लेख गरे। प्राकृतिक प्रकोप वा दुर्घटनाबाट हुने भौतिक क्षतिलाई पूर्ण रूपमा रोक्न नसकिए पनि बिमाको माध्यमबाट त्यसले पार्ने आर्थिक संकटलाई टार्न सकिने सीईओ बैदवारको भनाइ छ।

दाबी फछ्र्योटको गति सर्भे रिपोर्ट र आवश्यक कागजात पेस गर्ने समयसीमामा निर्भर हुने भएकाले सम्पूर्ण बीमितहरूलाई समयमै कागजात उपलब्ध गराउन कम्पनीले अनुरोध गरेको छ। प्रचलित कानुन र बिमालेखका सर्तहरूको परिधिभित्र रही योग्य दाबीहरू यथाशीघ्र फछ्र्योट गर्न सिद्धार्थ प्रिमियर प्रतिबद्ध रहेको छ।