२९ आश्विन २०८३, बिहिबार

आगलागीको खतराका कारण अमेरिकामा ह्युन्डाइका ९४ हजारभन्दा बढी गाडी फिर्ता



गाडी पार्किङ गर्दा वा चलाइरहँदा आगलागी हुन सक्ने जोखिम देखिएपछि ह्युाइन्डाइले अमेरिकामा करिब ९५ हजार सवारी साधन फिर्ता बोलाउने भएको छ।

काठमाडाैँ । अगाडिको पावर सिटको मोटर अत्यधिक तातेर आगलागी हुन सक्ने गम्भीर जोखिम देखिएपछि ह्युन्डाइ मोटर अमेरिकाले आफ्ना ९४ हजार ६२२ वटा सवारी साधनहरू फिर्ता (रिकोल) गर्ने भएको छ।

गाडी पार्किङ गरिएका बेला वा चलाइरहेका अवस्थामा समेत यस्तो खतरा उत्पन्न हुन सक्ने अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटिएसए) ले बिहीबार जानकारी दिएको छ।

अधिकारीहरूका अनुसार यो समस्या सवारी साधनको अगाडिको पावर सिट नियन्त्रण गर्ने स्विच जाम हुँदा उत्पन्न हुने गरेको छ।

स्विचमा आउने अवरोधका कारण सिटको मोटर अत्यधिक तात्न पुग्छ, जसले गर्दा गाडी गुेडिरहेको बेला वा पार्किङ गरी राखिएको अवस्थामा समेत अचानक आगो लाग्ने जोखिम रहेको सुरक्षा प्रशासनले स्पष्ट पारेको छ।

फिर्ता बोलाइएका यी सवारी साधनहरूमा सन् २०१५ देखि २०१६ सम्मका केही ह्युन्डाइ जेनेसिस र सन् २०१७ देखि २०२० सम्मका जेनेसिस जी८० मोडलहरू रहेका छन्।

यो समस्या गम्भीर प्रकृतिको भएकाले सवारीधनीहरूलाई मर्मत नभएसम्म आफ्ना गाडीहरू घर वा अन्य संरचना तथा अन्य सवारी साधनबाट टाढा, खुला ठाउँमा पार्किङ गर्न ह्युन्डाइले विशेष सुझाव दिएको छ।

सवारी सुरक्षाको क्षेत्रमा नियमन गर्ने निकायले जनाए अनुसार यो समस्या स्थायी रूपमा हल गर्नका लागि आवश्यक मर्मत विधि वा समाधानको उपाय हाललाई विकास गर्ने क्रममा रहेको छ। कम्पनी र सुरक्षा निकायले यसको प्राविधिक समाधान छिट्टै उपलब्ध गराउने तयारी गरिरहेका छन्।