३० आश्विन २०८३, शुक्रबार

सभापोखरी हाइड्रोपावरले आईपीओ जारी गर्ने, गरिमा क्यापिटल प्रत्याभूतिकर्ता



काठमाडाैं । गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

असोज २८ गते बुधबार भएको सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले सर्वसाधारणका लागि प्रतिशेयर रू. १०० अंकित दरको कुल १० करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ७५ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

गरिमा क्यापिटल लिमिटेडको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गरिमा क्यापिटलका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।

सभापोखरी हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित आयोजना संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नं. ३ मा अवस्थित ५ मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजना हो। उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भई ३३ केभी प्रसारण लाइनमार्फत टुम्लिङटार सबस्टेशन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। यस संस्थाले लगानी व्यवस्थापन सेवा, निक्षेप सदस्य सेवा डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी), धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति सेवा, गरिमा म्युचूअल फण्ड व्यवस्थापन सहित डिपोजिटरी सेवा, धितोपत्र शेयर रजिस्ट्रेशन तथा संस्थागत परामर्शलगायतका सेवामार्फत पूँजी बजारमा आफ्नो उपस्थिति स्थापित गरेको छ।

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष पुर्‍याउन गरिमा विकास बैंक लिमिटेडका शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ। आफ्ना सेवाहरूलाई अझ परिष्कृत र ग्राहकमैत्री रूपमा प्रवाह गर्न विभिन्न नवीनतम प्रविधिको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता यस संस्थाले व्यक्त गर्दछ।