३० आश्विन २०८३, शुक्रबार

नेपाल लिक्वर्सले एक वर्षमा बेच्यो डेढ अर्बको मदिरा: कुल बिक्रीमा ‘मिस्टर डोवेल्स’ को मात्रै ५२ प्रतिशत हिस्सा



काठमाडौँ। नेपालको मदिरा बजारमा तीन दशकभन्दा बढी समयदेखि आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपाल लिक्वर्स प्राइभेट लिमिटेडको व्यापार पछिल्लो चार वर्षयता निरन्तर बढेको छ।

कम्पनीले नयाँ-नयाँ ब्रान्डहरू बजारमा थप्दै लैजानु र आफ्ना उत्पादनहरूको बिक्री परिमाण (भोल्युम) विस्तार गर्नुका साथै विज्ञापन तथा प्रवर्द्धन खर्चमा व्यापक कटौती गरी सञ्चालन दक्षता बढाएकाले व्यापार र नाफामा यो निरन्तर वृद्धि सम्भव भएको हो।

कम्पनीको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०२३ मा ७६ करोड ४० लाख रुपैयाँ रहेकोमा २०२४ मा बढेर १ अर्ब २० करोड ९० लाख रुपैयाँ पुगेको थियो।

त्यसपछि आर्थिक वर्ष २०२५ मा १ अर्ब २७ करोड रुपैयाँ हुँदै आर्थिक वर्ष २०२६ मा १३ प्रतिशतको वृद्धि हासिल गरी १ अर्ब ४३ करोड ७० लाख रुपैयाँ पुगेको छ। कुल बिक्रीमा ‘मिस्टर डोवेल्स नम्बर १ लक्जरी’ को हिस्सा मात्रै करिब ५२ प्रतिशत रहेको छ भने यसबाहेक सिग्नेचर, स्मिरफ, एन्टिक्युटी ब्लू, रोयल च्यालेन्ज र ब्ल्याक हर्स जस्ता लोकप्रिय ब्रान्डहरूको बलियो उपस्थिति छ।

विज्ञापन तथा बिक्री प्रवर्द्धन खर्चलाई आर्थिक वर्ष २०२४ को ३१ करोड ७० लाख रुपैयाँबाट भारी कटौती गरी आर्थिक वर्ष २०२५ मा ९ करोड ४० लाख रुपैयाँमा सीमित गरिएको थियो, यद्यपि आर्थिक वर्ष २०२६ मा यो खर्च बढेर १५ करोड रुपैयाँ पुगेको छ। जसले कम्पनीको सञ्चालन नाफादरमा ठूलो सुधार आएको छ। अघिल्ला वर्षहरूमा ऋणात्मक रहेको खुद नाफा र आन्तरिक नगद सञ्चिति (ग्रस क्यास एक्रुअल्स) आर्थिक वर्ष २०२६ मा ९ करोड १० लाख रुपैयाँ धनात्मक बनेको छ।

यस्तै अघिल्ला वर्षहरूमा ऋणात्मक रहेको खुद नाफा मार्जिन आर्थिक वर्ष २०२६ मा सकारात्मक बन्न पुगेको छ। आन्तरिक नगद सञ्चिति (ग्रस क्यास एक्रुअल्स) मा समेत भारी सुधार आएको छ, जसअनुसार आर्थिक वर्ष २०२४ मा ऋणात्मक १९ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२५ मा ५ करोड २० लाख रुपैयाँ र आर्थिक वर्ष २०२६ मा ९ करोड १० लाख रुपैयाँ धनात्मक बनेको छ।

कम्पनीको ब्याज भुक्तानी क्षमता आर्थिक वर्ष २०२५ को १.२९ गुनाबाट सुध्रिएर आर्थिक वर्ष २०२६ मा १.६१ गुना पुगेको छ। यस्तै करेन्ट रेसियो आर्थिक वर्ष २०२३ मा १.६५, २०२४ मा १.३२, २०२५ मा १.३० र २०२६ मा १.४३ रहेको छ।

यता विगतका वर्षहरूको घाटाका कारण कम्पनीको वास्तविक नेट वर्थ ऋणात्मक मै रहेको छ, जसले गर्दा यसको वित्तीय संरचना अझै पनि दबाब र जोखिममा रहेको देखिन्छ।

कम्पनीकाे यीनै व्यापारिक तथा वित्तीय सूचकहरूका आधारमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको रेटिङ सुधार गरेको छ। कम्पनीले उपयोग गर्दै आएको कुल १ अर्ब ९६ करोड ७६ लाख रुपैयाँ बराबरको ऋण सुविधा मध्ये ९३ करोड ८६ लाख रुपैयाँको दीर्घकालीन कर्जालाई ‘आइआरएन बि प्लस’ मा स्तरोन्नति गरिएको छ भने १ अर्ब २ करोड ९० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘आइआरएन ए फोर’ रेटिङ यथावत राखिएको छ।

विराटनगरको टंकिसिंवारीमा कारखाना रहेको यस कम्पनीले विशेष फ्रान्चाइज सम्झौतामार्फत विश्वप्रसिद्ध मदिरा ब्रान्डहरू नेपालमै उत्पादन तथा बजारीकरण गर्दै आएको छ।

नेपाल लिक्वर्स प्राइभेट लिमिटेडले विशेष फ्रान्चाइज सम्झौतामार्फत नेपालमै उत्पादन तथा बजारीकरण गर्दै आएका चर्चित मदिरा ब्रान्डहरूमा मुख्यतया सिग्नेचर प्रिमियर ग्रेन ह्विस्की, सिग्नेचर रेयरएज्ड ह्विस्की, स्मिरफ भोड्का, मिस्टर डोवेल्स ह्विस्की, एन्टिक्युटी ब्लू अल्ट्रा-प्रिमियम ह्विस्की, रोयल च्यालेन्ज ह्विस्की र ब्ल्याक हर्स ह्विस्की रहेका छन्।

उच्च सरकारी कर, मदिराको प्रत्यक्ष विज्ञापनमा प्रतिबन्ध र विदेशी कच्चा पदार्थमा निर्भरता जस्ता चुनौतीहरू रहे पनि आफ्ना स्थापित ब्रान्ड र बलियो वितरण सञ्जालका कारण कम्पनीले बजारमा आफ्नो पकड थप मजबुत बनाउँदै लगेको छ।