दसैंलाई दसैं बनाउने ती पुराना दृश्यहरू कहाँ हराउँदैछन् ?
काठमाडौँ । दसैं आउनुअघि नै गाउँको रूप फेरिन्थ्यो। घरका भित्तामा कमेरो माटोको सेतोपन देखिन थाल्थ्यो। कतै रातो माटोले आँगन लिपिन्थ्यो, कतै सेतो माटोले भित्ता पोतिन्थ्यो। घर सफा हुन्थे, आँगन चिटिक्क पारिन्थ्यो। ढोका–झ्याल सफा हुन्थे। पुराना सामान मिलाइन्थे। घरमा दसैं आउनुअघि नै दसैंको आभास आइपुग्थ्यो। पिङका लागि बाँस खोजिन्थ्यो।चुल्होमा नयाँ परिकार पाक्थे।घरमा मासु काटिन्थ्यो।छिमेकीलाई बोलाइन्थ्यो।टोलका मानिस भेला हुन्थे।बालबालिका नयाँ कपडाको प्रतीक्षामा हुन्थे।
दसैं एउटा दिनको पर्व थिएन। दसैं त धेरै दिनअघि सुरु हुन्थ्यो-‘घर लिप्ने माटोबाट, आँगन बुहार्ने हातबाट, बजारबाट ल्याइने नयाँ कपडाबाट र घर फर्किंदै गरेका आफन्तका पाइला सुन्न थालेपछि।’
अहिले पनि दसैं आउँछ। टीका लगाइन्छ, जमरा राखिन्छ, नयाँ कपडा लगाइन्छ, मासु पाक्छ। तर, दसैंलाई दसैं बनाउने केही पुराना दृश्यहरू भने विस्तारै हराउँदै गएका छन्।
कमेरो माटोको त्यो सेतोपन, आँगनमा गोबर–माटोले लिपेको सुगन्ध, टोलमा ठडिएको लिंगे पिङ, घरमै काटिएको मासु, भान्सामा परिवारको सामूहिक व्यस्तता र साँझपख आँगनमा हुने गफ- यी सबै अब धेरैका लागि दसैंका सम्झना बन्न थालेका छन्।
कमेरो माटोको सेतोपनमा लुकेको दसैं
पहिले दसैं आउनु भनेको घरलाई नयाँ बनाउनु पनि थियो। घरमा रंगरोगन गर्ने आधुनिक सामग्री सबैको पहुँचमा थिएन। गाउँघरमा कमेरो माटो, सेतो माटो, रातो माटो र गोबरको प्रयोग गरेर घर–आँगन सफा र सुन्दर बनाइन्थ्यो। कसैले भित्ता पोत्थ्यो। कसैले आँगन लिप्थ्यो।कसैले ढोका–झ्याल सफा गर्थ्यो। त्यसमा सौन्दर्य मात्र थिएन, परिवारका सबै सदस्य मिलेर घरलाई चाडका लागि तयार पार्ने संस्कार थियो।
आज सिमेन्ट, टायल, पेन्ट र आधुनिक सजावटले त्यो काम सजिलो बनाइदिएको छ।तर, कमेरो माटोले पोतिएको भित्तामा देखिने दसैंको त्यो मौलिक सौन्दर्य कहाँ पाउनु ? सायद त्यसैले पुरानो पुस्ताका लागि दसैंको एउटा गन्ध पनि थियो, ‘भिजेको माटो, लिपेको आँगन र नयाँ चाडको गन्ध।’
आँगन लिप्ने हातहरू पनि बदलिँदैछन्
दसैंअघि घर सफा गर्ने काममा परिवारका सबै सदस्यको सहभागिता हुन्थ्यो। बूढापाका निर्देशन दिन्थे।ठूला मानिस काम गर्थे। बालबालिका पनि आफूले सकेको सहयोग गर्थे। त्यस क्रममा काम भन्दा ठूलो कुरा हुन्थ्यो,सँगै हुनु।
आज सफाइका लागि मानिस बोलाउन सकिन्छ। पेन्टिङका लागि कामदार आउँछन्। घर सफा गर्ने सेवा उपलब्ध छ।काम सहज भएको छ।तर, परिवार मिलेर घर सजाउने त्यो सामूहिक समय भने घटेको छ।
मासुको स्वादभन्दा ठूलो थियो ‘बाँड्ने संस्कृति’
दसैंको मासु पनि एउटा छुट्टै कथा थियो।घरमा खसी वा बोका काट्ने दिन आउँदा बिहानैदेखि घरमा चहलपहल हुन्थ्यो। आफन्त र छिमेकी जम्मा हुन्थे। कसैले काट्ने काम गर्थ्यो, कसैले मासु छुट्याउँथ्यो, कसैले पकाउने तयारी गर्थ्यो।मासु घरका लागि मात्र हुँदैनथ्यो।छिमेकीलाई भाग लगाइन्थ्यो। आफन्तलाई पठाइन्थ्यो। घरमा नआउन सक्नेका लागि पनि सम्झना पुग्थ्यो।दसैंको मासु खानका लागि थिएन, सम्बन्ध बाँड्नका लागि पनि थियो। आज मासु पसलबाट सजिलै किन्न सकिन्छ। काटेको, सफा गरेको र प्याकिङ गरेको मासु घरमै आइपुग्छ।सुविधा बढेको छ। तर, त्यससँगै मासु काट्ने दिनको सामूहिकता, भाग लगाउने चलन र ‘यो उहाँको घरमा पुर्याइदिनू’ भन्ने आत्मीयता भने धेरै ठाउँमा कमजोर हुँदै गएको छ।
भान्साको दसैं पनि फेरिँदैछ
पहिले दसैंमा भान्सा पनि एउटा उत्सव हुन्थ्यो।सेलरोटी, खीर, फिनी, अनरसा, विभिन्न अचार, घरमै तयार हुने रोटी तथा स्थानीय परिकारको तयारी हुन्थ्यो। घरका सबै सदस्य पनि आ–आफ्नो काममा जुट्थे।कुनै परिकार बनाउने सीप आमाबाट छोरीमा, हजुरआमाबाट नातिनीमा र पुस्ताबाट पुस्तामा पुग्थ्यो। आज बजारमा सबै कुरा पाइन्छ।सेलरोटी किन्न सकिन्छ। मिठाई किन्न सकिन्छ। तयार खाना मगाउन सकिन्छ। तर,रेसिपी किन्न सकिन्छ, स्मृति किन्न सकिँदैन।हजुरआमाको हातको स्वाद किन फरक थियो भन्ने प्रश्नको उत्तर सायद त्यही भान्सामा लुकेको थियो, जहाँ खाना मात्र पाक्दैनथ्यो, कथा पनि पाक्थ्यो, सम्बन्ध पनि पाक्थ्यो।
पिङ : आकाशतिर मच्चिने बाल्यकाल
दसैं र पिङको सम्बन्ध नेपाली स्मृतिमा निकै गहिरो छ।लिंगे पिङ, रोटे पिङ, चर्खे पिङ गाउँका चौर र खुला ठाउँमा दसैंअघि नै ठडिन्थे।पिङ हाल्नु पनि एउटा सामूहिक उत्सव थियो।बाँस खोज्नेदेखि डोरी जुटाउनेसम्म सबै मिलेर काम गर्थे। पिङ तयार भएपछि बच्चादेखि बूढासम्म पालो पर्खिन्थे। अहिले सहरमा ठाउँको अभाव छ। गाउँमा युवाको अभाव छ। सुरक्षा र व्यवस्थापनका कारण पनि पिङ हाल्ने परम्परा धेरै ठाउँमा कमजोर भएको छ। पिङ हराउदै गएको छ। पिङसँगै एउटा पुस्ताको बाल्यकाल पनि विस्तारै स्मृतिमा सीमित हुँदैछ।
चौरमा खेलिने खेल, मोबाइलमा सीमित हुँदै गएको फुर्सद
दसैंको लामो बिदामा बालबालिकासँग समय थियो।डन्डीबियो, लुकामारी, डोरी तान्ने, चङ्गा उडाउने, भकुण्डो लगायतका खेलले गाउँका चौर भरिन्थे।अहिले चौर उही हुन सक्छ। तर खेल्ने मानिस कम छन्।
बालबालिकाको हातमा मोबाइल छ। मनोरञ्जनको संसार एउटा स्क्रिनभित्र अटाएको छ।प्रविधिले नयाँ संसार दिएको छ।स्क्रिनले हामीलाई मनोरञ्जन त दियो, तर हाम्रो सामूहिक बाल्यकाल पनि लिएर गयो कि ? आजको मुख्य प्रश्न यहि नै हो ।
दसैंको गाउँ
पहिले दसैंमा छिमेकी पनि परिवारकै हिस्सा जस्तो एक घरमा पकाएको खाना अर्को घरमा पुग्थ्यो। एउटा घरको खुसी अर्को घरको खुसी हुन्थ्यो। दसैंमा टोलका मानिसबीच भेटघाट हुन्थ्यो। बूढापाकासँग आशीर्वाद लिइन्थ्यो। टाढाबाट आएका आफन्तलाई घर-घरमा बोलाइन्थ्यो।
अहिले मानिसहरू भौगोलिक रूपमा मात्र नभइ सामाजिक रूपमा पनि टाढिँदै गएका छन्।फेसबुक- म्यासेन्जर लगायत सामाजिक सन्जालमा शुभकामना पठाउन सजिलो छ।तर, एउटै आँगनमा बसेर ‘दसैं कस्तो भयो ?’ भनेर सोध्ने समय घट्दै गएको छ।
नयाँ कपडा : चाहना उही, शैली नयाँ
दसैंमा नयाँ कपडा लगाउनु पनि पुरानो संस्कार हो। पहिले वर्षमा एकपटक नयाँ कपडा पाउनु बालबालिकाका लागि ठूलो खुसी हुन्थ्यो।
दसैं आउनुअघि नै कपडा किन्ने, सिलाउने र लगाउने दिन गन्ने चलन थियो।अहिले नयाँ कपडा किन्न दसैं कुर्नुपर्दैन।अनलाइन पसल छन्। सपिङ मल छन्। हरेक मौसममा नयाँ फेसन आउँछ।
नयाँ कपडाको अभाव छैन।तर, नयाँ कपडाको प्रतीक्षामा बितेको त्यो बाल्यकाल भने आजको पुस्ताले सायद उस्तै गरी अनुभव नगर्न सक्छ।
घर फर्किने दसैं र खाली हुँदै गएको गाउँ
दसैं अझै पनि गाउँ फर्किने सबैभन्दा ठूलो अवसर हो।तर, गाउँमा बस्ने जनसंख्या घट्दै गएको छ। वैदेशिक रोजगारी, शिक्षा, रोजगारी र बसाइँसराइका कारण धेरै परिवारका सदस्य वर्षभरि अलग–अलग ठाउँमा छन्।
दसैंले केही दिनका लागि परिवारलाई फेरि एउटै ठाउँमा ल्याउँछ। त्यसैले दसैं आज पनि सम्बन्ध जोड्ने पर्व हो।तर टीका सकिएपछि फेरि त्यही गाउँ सुनसान हुन्छ। दसैंले गाउँ भरिदिन्छ, दसैं सकिएपछि गाउँ फेरि रित्तिन्छ।यो दृश्य नेपाली समाजको बदलिँदो संरचनाको एउटा गहिरो कथा पनि हो।
परम्परा हराउनु भनेको समय हराउनु होइन
समय बदलिन्छ। जीवनशैली बदलिन्छ। सुविधा बढ्छ। नयाँ पुस्ता नयाँ तरिकाले चाड मनाउँछ।त्यसैले पुरानो कुरा हराउँदैछ भन्दै परिवर्तनलाई अस्वीकार गर्नु समाधान होइन।तर, हाम्रा परम्पराभित्र रहेका सम्बन्ध, सामूहिकता, आत्मीयता र स्थानीय पहिचान जोगाउनु भने आवश्यक छ।
कमेरो माटोले घर पोत्नैपर्छ भन्ने होइन।तर, घर सफा गर्दा परिवार एकपटक सँगै बस्न सक्छ। घरमै खसी काट्नैपर्छ भन्ने होइन।
तर, मासुको एउटा भाग छिमेकी वा आफन्तका लागि छुट्याउने संस्कार बाँच्न सक्छ।
लिंगे पिङ नै हाल्नुपर्छ भन्ने होइन।तर, बालबालिकालाई सामूहिक खेलको आनन्द दिन सकिन्छ। सबै परिकार घरमै बनाउनैपर्छ भन्ने पनि छैन।तर, हजुरआमाको एउटा पुरानो परिकार अर्को पुस्तालाई सिकाउन सकिन्छ।
आखिर दसैं के हो ?
दसैं टीका हो, जमरा हो, नयाँ कपडा हो, मिठो खाना हो।तर, त्योभन्दा धेरै दसैं घर फर्किने बाटो हो।आमाको हातको खाना हो।
बुबाको आँगन हो।हजुरबाको आशीर्वाद हो।छिमेकीको बोलावट हो।बाल्यकालको पिङ हो।कमेरो माटोले सेतो बनेको भित्ता हो।
आँगनमा लिपिएको माटोको सुगन्ध हो।घरमा काटिएको मासुको भाग छिमेकीको घरसम्म पुर्याउने हात हो।
समयले यी दृश्यहरू बदलिरहेको छ। सायद केही परम्परा फर्केर आउने छैनन्। तर,सबै कुरा हराउन दिनु पनि आवश्यक छैन।किनकि परम्परा भनेको विगतको राम्रोपनलाई भविष्यसम्म पुर्याउनु हो।
यसपटक दसैंमा टीका लगाउँदै गर्दा एकछिन वरिपरि हेर्ने हो कि ? कमेरो माटोले पोतिएको पुरानो भित्तो अझै छ कि छैन ? चौरमा पिङ छ कि छैन ? हजुरआमाले पुरानो परिकार बनाउँदै हुनुहुन्छ कि छैन ? छिमेकीको घरमा मासुको भाग पुगेको छ कि छैन ? र सबैभन्दा ठूलो प्रश्न:-हामीले आफ्ना छोराछोरीलाई दसैंको नयाँ चमक त देखाइरहेका छौँ, तर त्यसको पुरानो आत्मा पनि चिनाइरहेका छौँ कि छैनौँ ? किनकि कुनै दिन पिङ नहोला, कमेरो माटो नहोला, पुरानो चुल्हो नहोला, आँगनमा पहिलेझैँ भीड नहोला। तर, ती सबैको कथा बाँचिरह्यो भने दसैं हाम्रो स्मृतिमा बाँचिरहने संस्कृति हुनेछ।















