पुरानाे भइसक्याे डिजिटल वालेट र मोबाइल बैंकिङः युरोपका ३७ दिग्गज बैंकहरू मिलेर ल्याउन लागेकाे ‘स्टेबलक्वाइन’ के हाे ?
काठमाडौं । हामी आफ्नै खातामा भएको पैसा मोबाइल बैंकिङ वा वालेटबाट चलाएर डिजिटल कारोबारको कुरा गर्छौं। पैसा बोकेर हिँड्न नपरेपछि डिजिटल दौडमा हामी पनि अब्बल भयौं भन्ने ठान्छौं।
तर, विश्वको वित्तीय क्षेत्र यतिमै रोकिएको छैन। बैंकमा रहेको पैसालाई मोबाइलबाट चलाउने चरण पार गर्दै अब बैंकहरू आफैं डिजिटल मुद्रा निकाल्ने दौडमा उत्रिएका छन्।
यही परिवर्तनको अर्को ठूलो संकेत युरोपबाट देखिएको छ, जहाँ ३७ वटा बैंक मिलेर आफ्नै युरोमा आधारित डिजिटल मुद्रा ल्याउने तयारी गरेका छन् ।
युरोपका १५ देशका ३७ वित्तीय संस्थाले मिलेर बनाएको क्विभालिस नामक कम्पनीले युरोसँग मूल्य जोडिएको ‘स्टेबलक्वाइन’ जारी गर्ने तयारी गरिरहेको हो । यो परियोजनाले परम्परागत बैंकिङ र ब्लकचेन प्रविधिलाई जोडेर युरोपमै आधारित डिजिटल भुक्तानी पूर्वाधार बनाउने लक्ष्य राखेको छ ।
यो कुनै उतारचढाव हुने सामान्य क्रिप्टोकरेन्सी होइन। यो १ युरो बराबर १ डिजिटल युरोको अनुपातमा चल्ने आधिकारिक ‘स्टेबलक्वाइन’ हो। प्रयोगकर्ताको रकम सुरक्षित राख्न यसको ग्यारेन्टी रकम सरकारी नियमनभित्रका बैंकहरूमा बेग्लै भण्डारण गरिनेछ, जसले गर्दा भोलि कम्पनीलाई केही भइहाले पनि मानिसहरूको पैसा सुरक्षित रहन्छ।
३७ बैंक किन एकै ठाउँमा आए ?
क्विभालिस परियोजनाको सुरुवात २०२५ मा केही ठूला युरोपेली बैंकको सहकार्यबाट भएको थियो । सुरुमा बैंकाको सेलाला, काइशाबैंक, डान्स्के बैंक, डेकाबैंक, आईएनजी, केबीसी, राइफाइजेन बैंक इन्टरनेसनल, एसईबी र युनिकेडिटलगायत बैंक यसमा सहभागी थिए । त्यसपछि बीएनपी पारिबास पनि जोडियो ।
२०२६ को मेमा थप २५ बैंक सहभागी भएपछि परियोजनामा आबद्ध वित्तीय संस्थाको संख्या ३७ पुगेको हो । यसमा एबीएन एमरो, राबोबैंक, साबाडेल, बैंक अफ आयरल्यान्ड, नर्डिया, इन्टेसा सानपाओलो, स्वेडबैंक, ह्यान्डेल्सबैंकलगायत बैंक छन् । अहिले यो सञ्जाल १५ युरोपेली देशसम्म फैलिएको छ ।
अहिले विश्वको डिजिटल मुद्रा (स्टेबलक्वाइन) बजारमा ‘टेथर’ र ‘सर्कल’जस्ता अमेरिकी डलरमा आधारित टोकनहरूको एकलौटी प्रभुत्व छ। युरोपेली बजारलाई अमेरिकी डलर र अमेरिकी कम्पनीहरूको दबदबाबाट मुक्त गराउँदै डिजिटल संसारमा युरोको पकड बलियो बनाउन यी ३७ बैंकहरू एकै ठाउँमा उभिएका हुन्।
त्यसैले युरोपेली बैंकहरूको प्रयासलाई केवल नयाँ डिजिटल मुद्रा ल्याउने योजना मात्र नभई युरोको डिजिटल संसारमा आफ्नो स्थान बलियो बनाउने प्रयासका रूपमा पनि हेरिएको छ ।
आखिर स्टेबलक्वाइन भनेको के हो ?
नाम सुन्दा क्रिप्टोकरेन्सी जस्तै लागे पनि स्टेबलक्वाइनको उद्देश्य बिटक्वाइनजस्तो मूल्यमा ठूलो उतारचढाव ल्याउनु होइन ।
स्टेबलक्वाइन भनेको कुनै सरकारी मुद्रासँग मूल्य जोडिएको डिजिटल टोकन हो । क्विभालिसको योजनामा यसको आधार युरो हुनेछ । अर्थात् सामान्य अवस्थामा एउटा टोकनको मूल्य एक युरो बराबर हुन्छ । यस्तो डिजिटल टोकन ब्लकचेनमा कारोबार गर्न सकिन्छ ।
त्यसैले परम्परागत बैंकिङ प्रणालीमा कारोबार पूरा हुन लाग्ने समय र विभिन्न चरणलाई घटाएर छिटो भुक्तानी तथा सम्पत्ति हस्तान्तरण गर्न सकिने अपेक्षा गरिएको छ ।
युरोपेली केन्द्रीय बैंकसँग सम्बन्धित नेदरल्यान्ड्सको केन्द्रीय बैंकले पनि स्टेबलक्वाइनले चौबीसै घण्टा कारोबार तथा सीमापार भुक्तानीमा सम्भावित उपयोग दिन सक्ने बताएको छ । विशेषगरी डिजिटल खातामा आधारित कारोबार र ब्लकचेनमा आधारित वित्तीय सम्पत्तिको कारोबारमा यसको उपयोग हुन सक्ने उसको भनाइ छ ।
बैंकमा पैसा राख्ने कि डिजिटल टोकनमा ?
यहीँबाट यो परियोजनाको सबैभन्दा ठूलो प्रश्न सुरु हुन्छ । यदि कुनै कम्पनीले बैंक खाताबाट पैसा पठाउनुको सट्टा युरोमा आधारित डिजिटल टोकनबाटै कारोबार गर्न थाल्यो भने भुक्तानीको तरिका बदलिन सक्छ । एउटा देशबाट अर्को देशमा पैसा पठाउँदा बैंकको परम्परागत प्रक्रियाभन्दा डिजिटल माध्यमबाट छिटो कारोबार गर्न सकिने सम्भावना हुन्छ ।
क्विभालिसले आफ्नो स्टेबलक्वाइनलाई सीमापार भुक्तानी, चौबीसै घण्टा कारोबार, आपूर्ति शृंखला व्यवस्थापन तथा डिजिटल सम्पत्तिको कारोबार र भुक्तानीमा प्रयोग गर्न सकिने बताएको छ । कम्पनीले भविष्यमा बन्ड, घरजग्गा वा अन्य सम्पत्तिलाई डिजिटल टोकनमा परिणत गरेर कारोबार गर्ने प्रणालीमा समेत यसको उपयोग हुन सक्ने अपेक्षा गरेको छ ।
यसले बैंकिङ क्षेत्रको एउटा पुरानो संरचनामाथि भने प्रश्न खडा गर्छ -भविष्यमा बैंक खाताबाट पैसा पठाउने प्रणाली मात्र पर्याप्त हुन्छ कि पैसा आफैं डिजिटल सम्पत्तिको रूपमा चल्नेछ ?
तर यसको अर्थ बैंकको पैसा तुरुन्तै विस्थापित हुन्छ भन्ने होइन । बरु यसलाई डिजिटल पूर्वाधार निर्माणमा महत्वपूर्ण कदमका रूपमा हेरिएकाे छ।
युरोप आफैं पनि डिजिटल युरोतर्फ
क्विभालिसको योजना युरोपमा भइरहेको अर्को ठूलो डिजिटल मुद्रा अभियानसँग पनि जोडिन्छ ।
युरोपेली केन्द्रीय बैंकले आफ्नै ‘डिजिटल युरो’ विकास गरिरहेको छ । जुलाई २०२६ मा उसले डिजिटल युरोको परीक्षण कार्यक्रमका लागि ३६ वटा भुक्तानी सेवा प्रदायक छनोट गरेको थियो । परीक्षण २०२७ को दोस्रो भागमा सुरु हुने र करिब १२ महिना चल्ने योजना छ । हालको योजनाअनुसार कानुनी प्रक्रिया पूरा भए डिजिटल युरोको वास्तविक प्रयोग २०२९ तिर सुरु गर्ने लक्ष्य छ ।
तर क्विभालिसको स्टेबलक्वाइन र डिजिटल युरो एउटै कुरा भने होइनन्। डिजिटल युरो केन्द्रीय बैंकसँग सम्बन्धित सार्वजनिक डिजिटल मुद्राको अवधारणा हो भने क्विभालिसको स्टेबलक्वाइन निजी क्षेत्रका बैंकहरूले स्थापना गरेको कम्पनीमार्फत जारी हुने डिजिटल टोकन हो ।
अर्थात् युरोपमा एकातिर केन्द्रीय बैंक आफैं डिजिटल पैसाको पूर्वाधार बनाउन खोजिरहेको छ भने अर्कोतिर व्यावसायिक बैंकहरू पनि आफ्नै डिजिटल भुक्तानी पूर्वाधार बनाउन अघि बढेका छन् ।
तर जोखिम पनि उत्तिकै
डिजिटल मुद्रा जति आकर्षक देखिन्छ, यसको जोखिम पनि कम छैन । युरोपेली केन्द्रीय बैंक र युरोपका अन्य केन्द्रीय बैंकहरूले हालै स्टेबलक्वाइनको सञ्चिति बैंक निक्षेपमा राख्ने विद्यमान व्यवस्थामाथि समेत प्रश्न उठाएका छन् ।
उनीहरूको चिन्ता के हो भने स्टेबलक्वाइनको ठूलो रकम बैंक निक्षेपमा जम्मा भयो र एकैपटक ठूलो मात्रामा डिजिटल टोकन फिर्ता लिन खोजियो भने त्यसले बैंकको वित्तीय स्थिरतामा दबाब पार्न सक्छ ।
नेदरल्यान्ड्सको केन्द्रीय बैंकले पनि स्टेबलक्वाइनको सम्भावना भए पनि यसको फाइदा आफैं सुनिश्चित नहुने बताएको छ । विभिन्न डिजिटल भुक्तानी प्रणालीबीच राम्रोसँग अन्तरसम्बन्ध कायम हुन नसके धेरै स्टेबलक्वाइन र छुट्टाछुट्टै ब्लकचेन प्रणालीले उल्टै कारोबारलाई टुक्र्याउन सक्ने उसको चेतावनी दिउकाे छ ।
अर्थात् डिजिटल पैसा ल्याउँदैमा बैंकिङ प्रणाली सरल र सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी छैन ।
नेदरल्यान्ड्सको केन्द्रीय बैंकबाट विद्युतीय मुद्रा संस्था (ईएमआई) को रूपमा अनुमति लिने प्रक्रियामा रहेको क्विभालिसले सन् २०२६ को अन्त्यसम्ममा यो स्टेबलक्वाइन बजारमा ल्याउने लक्ष्य राखेको छ।
युरोपेली बैंकहरूको यो कदम सफल भयो भने त्यसको असर केवल क्रिप्टो बजारमा सीमित नहुन सक्छ । सीमापार भुक्तानी, बैंकबीचको रकम स्थानान्तरण, डिजिटल सम्पत्तिको कारोबार र अन्तर्राष्ट्रिय व्यापारमा पैसा सार्ने तरिका नै क्रमशः बदलिन सक्छ ।















