तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १६ जनाको मृत्यु, ३२ घाइते
काठमाडौं । चीनको दक्षिण-पश्चिमी क्षेत्रस्थित तिब्बतमा बिहीबार राति ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण हालसम्म कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्थानीय समयअनुसार बिहीबार राति १०:३३ बजे उत्तरी तिब्बतको नाग्चू सहरअन्तर्गत पर्ने हिमाली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको हो ।
शुक्रबार बिहान २:२५ बजेसम्म घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जना सामान्य घाइते भएका छन् । स्थानीय अधिकारीहरूले केन्द्रबिन्दु नजिकैका गाउँहरूमा कम्तीमा दुई जना घाइते भेटिएको र नजिकका बस्तीहरूका घरहरूमा चिरा परेको जनाएका छन् ।
यो भूकम्प सन् २०२४ को जनवरीयता चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ ।
स्थानीय सरकारी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका भिडियोहरूमा भूकम्पको तीव्र धक्कापछि मानिसहरू आत्तिएर घरबाहिर खुला सडक तथा आफ्ना सवारीसाधनभित्र ओत लागिरहेको देख्न सकिन्छ ।
मुख्य भूकम्पपछि पनि त्यस क्षेत्रमा ३ र ४ म्याग्निच्युडका निरन्तर साना पराकम्पहरू रेकर्ड गरिएको चीन भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।
यसअघि सन् २०१० मा तिब्बतसँगै जोडिएको छिमेकी प्रान्त छिङहाइको युशुमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २,६९८ जनाको ज्यान गएको थियो भने करिब ३०० जना बेपत्ता भएका थिए ।















