कर्मचारीहरु माथिका अराजक गतिविधि नरोके बैंकिङ्ग सेवा नै सुचारु नहुन सक्छ: बैंकर्स « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

कर्मचारीहरु माथिका अराजक गतिविधि नरोके बैंकिङ्ग सेवा नै सुचारु नहुन सक्छ: बैंकर्स



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीमाथि भएको अराजक व्यवहार सांघातिक आक्रमण प्रति बैंक तथा वित्तीय संस्थाहरुले आपत्ति जनाएका छन् ।

शुक्रबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बैंकर्समाथि भएको आक्रमण प्रति ध्यानाकर्षण गराएका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै संस्थाहरुमाथि पछिल्लो समय केही व्यक्ति तथा समूहहरुले बैंक/वित्तीय तथा लघुवित्त संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र सांघातिक आक्रमणको घोर निन्दा गरेका छन् ।

बैंकर्सहरुले विभिन्न समयमा मुलुकमा आईपरेको महा–भूकम्प, कोभिड महामारी जस्ता विषम परिस्थितीमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गर्दै आएको स्मरण गराएका छन् ।

बैंकका कर्मचारीहरु माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति घोर आपत्ती जनाउँदै घट्नामा संलग्न दोषीहरुलाई यथाशिघ्र हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

‘अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन माग गर्दछौं । यस प्रकारका अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षा निमित्त बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहन्छ’–विज्ञप्तिमा भनिएको छ ।

बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमैै नियन्त्रण गर्न उनीरुको माग छ ।


प्रतिक्रिया दिनुहोस्