सेयर बजारमा बढ्ने घट्ने प्रवृत्ति हावी, लगानीकर्ता डराएकै हुन् ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार बजार १८.१५ अंकले घटेको छ । सो दिन बजार परिसुचक १९१५ दशमलव १४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज सबै समूह राताम्मे बनेका छन् । बुधवारको तुलनामा भने कारोबार रकममा बढोत्तरी देखिएको छ । आज १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार रुपैयाँ बराबरको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिदबिक्री भएको छ ।

लगानीकर्ताको मनोबल कमजोर हुँदा पनि बजारमा स्थिरता नदेखिएको हो । पछिल्लो केही दिन बजार बढ्ने र घट्ने प्रवृत्ति पनि हावी भईरहेको छ ।
पछिल्लो समयमा अर्थतन्त्रका अधिकांश सुचक सुधार तिर गइरहेको अवस्था छ । तर, सरकारद्वारा भइरहेको गतिविधिले सेयर बजारमा उत्साह छाउन नसकेको बताइएको छ ।
प्रधानमन्त्री पुष्प कमल दाहालले दोस्रो पटक विश्वासको मत पाइसकेका छन् । अब देशले नयाँ अर्थमन्त्री समेत पाउने छ । नयाँ अर्थमन्त्रीले लगानीकर्ताको मनोभावनालाई कसरी बुझ्छ भन्ने अन्यौलले लगानीकर्ता डराएको अवस्था रहेको छ ।