१९ श्रावण २०८३, मंगलबार

महासंघ निर्वाचनमा प्रचण्डको दबाब नै असफल, उपाध्यक्षमा हारे सुमार्गी !



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष जिताउन दबाब दिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्ततः असफल बनेका छन् ।

उनले उपाध्यक्ष जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार अरुणराज सुमार्गीलाई जिताउन नेतृत्व तहलाई नै दबाब दिँदै आएको थिए । तर, महासंघ निर्वाचन समितिका अनुसार सुमार्गीले भने सो पदमा पराजय व्यहोरेका छन् । उनलाई प्रतिस्पर्धी सुरकृष्ण वैधले पराजित गरेका हुन् । वैधले ४३ मत ल्याएर अर्को प्रतिस्पर्धीद्वय अरुणराज सुमार्गी र दिनेश श्रेष्ठलाई हराएर उपाध्यक्षमा बाजी मारेका हुन् । सुमार्गी र श्रेष्ठले भने क्रमशः ३७ मत र ३४ मत लिएका छन् ।

जिल्ला नगर तर्फको उपाध्यक्षमा कुल ११७ मत खसेको निर्वाचन समितिले जनाएको छ । सोमध्ये १ मत बदर भएको थियो भने ११६ मत गणना भएको थियो । वैध महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र सघंईका प्यानलबाट जिल्ला नगरमा उम्मेदवार बनेका थिए ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मदेवार अन्जन श्रेष्ठको टिमबाट जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका अरुणराज सुमार्गीलाई जिताउन ‘प्रचण्ड’ लागि परेका छन् । उनले अरुण सुमार्गीलाई ल्याउन महासंघको नेतृत्वलाई दबाब दिएका थिए । प्रचण्डका पुराना मित्र अजयराज सुमार्गीका भाई हुन् अरुणराज सुमार्गी । सुमार्गीसंग प्रचण्डको निकै घनिष्ठ सम्वन्ध छ । प्रचण्डले सुमार्गीलाई महासंघको उपाध्यक्षमा जिताउनका लागि खुलेरै सहयोग गरेको बताइन्छ । यद्यपि, उनको राजनैतिक दबाब र सहयोग पनि अन्ततः असफल बन्न पुगेको छ । सुमार्गीले प्रचण्डको निर्वाचन लगायतका आर्थिक पाटोमा सघाउँदै आएका थिए । सुमार्गी प्रचण्डको आर्थिक डोनर नै मानिन्छन् ।