१९ श्रावण २०८३, मंगलबार

एफएनसीसीआई निर्वाचनः वरिष्ठ उपाध्यक्षमा सहमति गराउन सफल होलान् त निवर्तमान र पूर्वअध्यक्षहरु ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचन सरेको छ । वरिष्ठ उपाध्यक्षमा पदमा सहमतिको प्रयासले दोस्रो चरणको निर्वाचनपछि तोकिएको समयभन्दा सरेको हो ।

यति बेला महासंघ निवर्तमान अध्यक्ष तथा पूर्वअध्यक्षहरु हालका वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारलाई सहमति गराउने कोसिसमा छन् । सहमति गराउन कोसिस गरेपछि पूर्वनिर्धारित समयभन्दा निर्वाचन धकेलिएको हो ।

निर्वाचन समितिका अनुसार ४ बजेसम्मको समय माग गरिएको छ । पछिलो चरणको मतगणना सकिएलगत्तै दोस्रो चरणका लागि २ बजेदेखि मतदान गर्ने तयारी थियो ।

पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले ५० प्रतिशत मतभार ल्याउन सकेनन् । वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघईले उम्मेदवारी दिएका थिए ।

उनीहरुले ५० प्रतिशत मतभार नपाएपछि बढी मत ल्याउने दुई उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच फेरि मतदान हुन लागेको हो । वरिष्ठ उपाध्यक्षको दौडमा रहेका संघई पहिलो चरणबाटै बाहिरिएका छन् ।