वरिष्ठ उपाध्यक्षका उम्मेदवारद्वय अन्जन र उमेशले निर्वाचन अधिकृतलाई भने, -‘हामी सहमति नजिक छौं’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारद्वय अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले सहमति नजिक पुगेको जानकारी गराएका छन् ।
उनीहरुले निर्वाचनमा नजाने गरि सहमतिको नजिक पुगेको निर्वाचन समितिलाई जानकारी गराएका हुन् । मुख्य निर्वाचन अधिकृत लिलामणी पौडेलले उनीहरुको भनाई उद्धत गर्दै भने, हामीहरु सहमतिको नजिक छौं । केही समय मतदान प्रक्रिया अघि नबढाईदिनु ।
यति बेला महासंघ निवर्तमान अध्यक्ष तथा पूर्वअध्यक्षहरु हालका वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारलाई सहमति गराउने कोसिसमा छन् । सहमति गराउन कोसिस गरेपछि पूर्वनिर्धारित समयभन्दा निर्वाचन धकेलिएको छ । निर्वाचन समितिका अनुसार ४ बजेसम्मको समय माग गरिएको थियो । पछिलो चरणको मतगणना सकिएलगत्तै दोस्रो चरणका लागि २ बजेदेखि मतदान गर्ने तयारी थियो ।
पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले ५० प्रतिशत मतभार ल्याउन सकेनन् । वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघईले उम्मेदवारी दिएका थिए । उनीहरुले ५० प्रतिशत मतभार नपाएपछि बढी मत ल्याउने दुई उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच फेरि मतदान हुन लागेको हो । वरिष्ठ उपाध्यक्षको दौडमा रहेका संघई पहिलो चरणबाटै बाहिरिएका छन् ।













