गोर्खाज फाइनान्सको नाफा ९ करोड बढी: १० करोडले बढ्यो खुद ब्याज आम्दानी, खराब कर्जा घट्दै

काठमाडौं । गोखार्ज फाइनान्स कम्पनीले ९ करोड बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
कम्पनीले चालु आवको ९ महिनामा ९ करोड १५ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको तुलनामा भने कम्पनीको सामान्य गिरावट आएको छ । गत आवको समिक्षा अवधिमा कम्पनीले ९ करोड ४९ लाख २८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १० करोड ११ लाख ६३ हजार रुपैयाँले वृद्धि भएको छ । यस वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद आम्दानी २५ करोड ४७ लाख २२ हजार रुपैयाँ कायम भएको छ । गत आवको समिक्षा अवधिमा भने कम्पनीको यस्तो १५ करोड ३५ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको संचालन नाफामा पनि १६.२८ प्रतिशतको बढोत्तरी देखिएको छ। सो अवधिमा कम्पनीले संचालन नाफा १५ करोड ७८ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरण योग्य नाफा भने ८ करोड ४८ लाख बढी नोक्सानी छ ।
कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ८५ करोड ८ लाख ५२ हजार रुपैयाँ राखेको छ ।
सो अवधिमा कम्पनीले ७ अर्ब २५ करोड ९३ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरि ५ अर्ब ६४ करोड ८१ लाख ८० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको खराब कर्जा ६.७७ प्रतिशत रहेको छ । तर गत आवको समिक्षा अवधिको तुलनामा भने घटाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ ८३ पैसा रहेको छ ।