विद्युतीय सवारीमा झन् बढ्यो क्रेजः एक महिनामै थप २५३ वटा गाडी नेपाल भित्रियो
काठमाडौं । एक महिनामै थप साढे दुई वटा इलेक्ट्रिक गाडी (कार, जीप र भ्यान) नेपाल भित्रिएको छ ।
चैत महिनामा मात्रै थप २५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका हुन् । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
विभागका अनुसार चालु आवको ९ महिनामा २ हजार ४५१ इलेक्ट्रिक कार, जीप र भ्यान नेपालले आयात गरेको छ । जुन गत फागुन महिनाको तुलनामा ११.५१ प्रतिशतले बढी हो । गत फागुन महिनासम्ममा भने २ हजार १९८ वटा विद्युतीय सवारी नेपाल भित्रिएको थियो ।
नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ । नेपाल अटो बजारमा पनि विस्तारै विद्युतीय गाडी केन्द्रित भएको पाइन्छ । विद्युतीय सवारी साधानका लागि सरकारले पनि नीति मार्फत नै प्रोत्साहन गरेको छ । पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका संख्या पनि बढ्दो क्रममा रहेको छ । लामो दुरीमा गाडी चलाउँदा वा घरमा खरिदकर्तालाई प्रोत्साहन हुनेगरि आवश्यक पूर्वाधार पनि विस्तारै बन्दै गएकाले पनि आकर्षण बढेको हो ।
नेपालमा छिमेकी मुलुक चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको छ । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइएका विद्युतीय कारको ब्राण्ड हुन् ।
चालु आवको चैत मसान्तसम्ममा कुल ६ अर्ब ८४ करोड ७ लाख ९० हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा धेरै इलेक्ट्रिक गाडी भारतबाट आयात भएको छ । भारतबाट ४ अर्ब ७१ करोड ९८ लाख १४ हजार रुपैयाँ बराबरको १ हजार ७५५ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।
सो अवधिमा चीनबाट १ अर्ब ८ करोड ५१ लाख १९ हजार रुपैयाँ बराबरको ४२९ वटा, कोरियाबाट ९७ करोड ५६ लाख ३९ हजार रुपैयाँ बराबरको २५२ वटा, अमेरिका २ करोड २७ लाख ७८ हजार बराबरको ४ वटा विद्युतीय सवारी आयात भएको छ ।
यता, इन्डोनेसियाबाट भने ६४ लाख ६ हजार मूल्य बराबरको ३ वटा विद्युतीय सवारी नेपाल भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ । विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ९३ करोड १३ लाख ५९ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
मासिक कति इभी नेपाल भित्रिए ?
विभागका अनुसार गत फागुन महिनामा भने ६ अर्ब १६ करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएको थियो । सो अवधिसम्ममा भने १ अर्ब ७३ करोड ८९ लाख ६३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो ।
गत माघ महिनासम्ममा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरको २ हजार ९ वटा विद्युतीय सवारी आयात भएको थियो । सो अवधिमा सरकारले १ अर्ब ५८ करोड ३६ लाख ३२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
यस्तै, पुसमा ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार रुपैयाँ, मंसिरमा ३ अर्ब ८२ करोड ५७ लाख, कात्तिकमा २ अर्ब ८६ करोड ३५ लाख ६२ हजार, असोजमा २ अर्ब ५० लाख रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएका थिए । यी महिनाहरुमा क्रमशः १ हजार ७४९ वटा, १ हजार ३५३, १ हजार १८ र ७०५ वटा विद्युतीय गाडी आयात भएका थिए ।
यस्तै, भदौमा १ अर्ब १९ करोड ४३ लाख ५९ हजार रुपैयाँ बराबरको ४१४ वटा र साउनमा ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको २११ वटा इभि नेपाल भित्रिएका छन् । चालु आवको पहिलो महिनामा भने विद्युतीय आयातबाट सरकारले २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो ।













