‘विद्युतीय सवारी सरकारको मेरुदण्ड हो, आगामी बजेट मार्फत स्पष्ट र स्थिर नीति लिनुपर्छ’ : श्रेष्ठ
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएशनकी केन्द्रीय सदस्य यमुना श्रेष्ठले विद्युती सवारीका लागि स्पष्ट नीति आवश्यक रहेको बताइ्न ।
सामेक्स इंककी प्रबन्ध निर्देशक समेत रहेको श्रेष्ठले अगामी बजेटमार्फत विद्युतीय सवारीमा सरकारले स्थिर नीति लिनुपर्ने बताइन् ।
नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको सहकार्यमा आयोजना गरिएको ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ विषयमा कार्यक्रममा श्रेष्ठले यस्तो बताएकी हुन् । विद्युतीय सवारीको नीति स्थिर कायम गर्नुपर्ने उनको भनाई थियो । उनले भनिन्–‘स्थिर नीति कम्तिमा २–३ वर्षसम्म कायम हुनुपर्छ । यसबाट नेपालमा विद्युतीय सवारीको संख्या र प्रयोगकर्ता पनि उत्तिकै आकर्षण बढ्छ ।
सरकारले प्रत्यक वर्ष विद्युतीय सवारी आयातमा कर बढाउने र घटाउने गर्दा उपभोत्तामा अन्योलता सृजना गरेको उनको भनाई छ । सरकारले लिएको १०० किलोवाटसम्मका सवारीलाई मात्रै प्रोत्साहन गर्ने नीतिले उच्च क्षमताका सवारीको संख्या नबढेको श्रेष्ठले बताइन ।
श्रेष्ठले भनिन्–‘विद्युतीय सवारी नै राज्यको मेरुदण्ड हो । स्पष्ट नीति नहुँदा ग्राहकमा अन्योलताको अवस्था छ । नेपालमा विद्युत उत्पादन पनि बढेको छ, इभि बाट नै यसको खपत बढाउन सकिन्छ ।’ उनले खेर गईरहेको विद्युतको खपत इलेक्ट्रिक गाडीले बढाउन सकिने बताइन् ।













