नागरिक बचतपत्रमार्फत २ अर्ब ८२ करोड आन्तरिक ऋण उठाउँदै सरकार: धितो राखी कर्जा लिन पनि पाईने, ब्याज कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अर्थात आइतबारदेखि नागरिक बचतपत्र २०८५ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
राष्ट्र बैंकले दुई अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँ बराबरको बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो ।आइतबारदेखि आगामी जेठ २४ गतेसम्म बिक्री खुला गरेर जेठ ३० गते बचतपत्र निष्कासन हुनेछ ।
सो बचतपत्रको अवधिमा पाँच वर्षको हुनेछ भने वार्षिक ब्याजदर १० प्रतिशत तोकिएको छ । बचतपत्रको ब्याज हरेक छ महिनामा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।
लगानीकर्ताले घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमासम्म १० हजारले निशेष भाग जाने अंक बराबरको बचतपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिने राष्ट्र बैंकले जनाएको छ । नागरिक बचतपत्र खरिद गर्न चाहने इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेबसाइटमा रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
बचतपत्र खरिदका लागि नेपाली नागरिकताको प्रतिलिपि, नाबालकको हकमा संरक्षकको नागरिकताको प्रमाणपत्र र जन्म दर्ताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले स्टक वा प्रमिशरी नोटको रूपमा बचतपत्र लिन सकिने राष्ट्र बैंकले जनाएको छ । यस्तै, लगानीकर्ताले स्टक वा प्रमिशरी नोटमध्ये आफूले लिन चाहेको प्रमाणपत्रको किसिम आवदेन दिँदा नै खुलाउनु पर्नेछ ।
यदि नखुलाइएको भए राष्ट्र बैंकले प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराउनेछ । राष्ट्र बैंकका अनुसयार लेखपढ गर्न नजान्ने व्यक्तिलाई भने स्टक प्रमाणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।