३० श्रावण २०८३, शनिबार

निजी क्षेत्रसँग अर्थपूर्ण र प्रभावकारी सहकार्यका लागि तयार: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । नेपालमा आर्थिक विकासका लागि दिगो लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित काठमाडौंमा ‘इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल सुरु भएको छ।

लगानी बोर्डको कार्यालय तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको सयुक्त आयोजनाममा सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्बन्धिको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उपयुक्त समयमा सम्मेलन सुरु भएको बताए। बजेट निर्माणको समयमा सरकारले स्रोतको पहिचान र अवधारणको खोजी गरिरहेको बेला यो सघन सम्मेलन आयोजना भएकोमा खुसी व्यक्त गरे ।

नेपाल सरकारले विकासका लक्ष्य हात पार्नका लागि यसअघि नै लगानीका क्षेत्र तय गरेको र लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था यसअघि नै गरेको उनको भनाइ छ । विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणको खोजीमा सम्मेलन आयोजना हुनु निकै सान्दर्भिक भएको उनको भनाइ छ।

‘हाम्रा विकासका लक्ष्य हात पार्नका लागि चाहिने वित्तीय स्रोतको ग्याप पूरा गर्नका लागि उपयुक्त हुने लगानीको उपयुक्त अवधारणाको खोजीमा यो सम्मेलन केन्द्रित हुनेछ यसले हामीलाई मार्गदर्शन गर्नेछ उनले भने।

कार्यकालमा आफू निजी क्षेत्रसँग अर्थपूर्ण र प्रभावकारी सहकार्यका लागि तयार रहेको उनले बताए। विकासका लक्ष्य हात पार्नकालागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक हुने र त्यसलाई उत्प्रेरित गर्नका लागि सरकार तत्पर रहेको उनको भनाइ छ।