लघुवित्तका ऋणीलाई राष्ट्र बैंकको मलम, अब ५ प्रतिशत ब्याज तिरेर कर्जा पुरसंरचना गर्न पाउने

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाहरुले पनि असुल हुन बाँकी ब्याजको न्युनतम ५ प्रतिशत ब्याज रकम असुल गरि कर्जा पुनरतालिकीकरण/पुनरसंरचना गर्न पाउने भएका छन् ।
बुधवार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । लघुवित्तले ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरि आवश्यक र औचित्यका आधारमा एक पटकको लागि कर्जा पुनरतालिकीकरण अथवा पुरसंरचना गर्न सक्ने एकीकृत निर्देशनमा उल्लेख छ । तर, आगामी असार मसान्तसम्मभित्र नै कर्जा पुरतालिकीकरण/पुनरसंरचना गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार २०७९ चैत्र मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी पुनरतालिकीकरण / पुनरसंरचना गर्न सकिनेछ । कर्जाहरुलाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ । यस्तै, कर्जा पुनरतालिकीकरण / पुनरसंरचना गर्नुपर्ने स्पष्ट आधारहरु प्रत्येक कर्जा फाइलमा संलग्न हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
कर्जा पुनरतालिकीकरण / पुनरसंरचना गर्दा असुल हुन बाँकी ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन भने नपाइने राष्ट्र बैंकले जनाएको छ । यद्यपि, उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् मात्र आम्दानीका रुपमा देखाउन सकिनेछ ।
पुनरतालिकीकरण / पुनरसंरचना गरेवापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क/हर्जाना लिन नपाइने, किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात् मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ ।
पुनरतालिकीकरण/पुनरसंरचना पश्चात् कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक हुने अवस्था आएमा राइट ब्याक गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न पाइने छैन ।
पुनरतालिकीकरण / पुनरसंरचना गरिएको कर्जा असल वर्गमा वर्गीकरण भएपश्चात् मात्र उक्त खातामा लेखांकन गरिएको रकम सञ्चित मुनाफा हिसाबमा समायोजन गर्न सकिनेछ ।