विहीबारदेखि जिल्लाभित्र सबै सवारीसाधन चल्ने
काठमाडौं। आगामी विहिबार देखि सार्वजनिक सवारीसाधन चलाउन व्यवसायीहरु तयार भएका छन ।
मंगलबार दिउसो भएको पत्रकार सम्मेलनमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वीचमा विहीबारबाट जिल्लाभित्र पूर्ण रुपमा सवारी चलाउने सहमति भएको बताएका छन ।
सोमबार यातायात मजदुरहरुको कोरोना बीमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने र बाँकी ५० प्रतिशत व्यवसायी आफैले ब्यहोर्नेगरी विभागले सहजीकरण गर्ने सहमति भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका हुन् ।
सोमबार यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, यातायात व्यवस्था विभाग, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच भएको वार्ता सहमतिमा पुगेको थियो ।
महासंघका महासचिव सरोज सिटौलाले अनुसार लामो ,छोटो र मध्य सबै सवारीसाधन संचालनका लागि विभागले मन्त्रालयमा मार्फत सिफारिस गर्ने बताए ।
त्यस्तै, यातायात मजदुरहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू ९मास्क, स्यानिटाइजर, पन्जा, पीपीई० सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको जनाइएको छ ।
अहिले उपत्यकामा धेरै सवारीसाधन चलीरहेका छन, कोरोना भाइरसको प्रभाव कम हुदै गए विस्तारै जिल्लाबाट प्रदेश हुदै देशैभरि गाडी चलाउने गरि कार्ययोजना बनेको उनले बताएका छन ।













