जंगबहादुर शैलीमा ओली, नेकपालाई जसरी पनि कब्जा गर्ने रणनीतिमा « Arthapath.com
१५ श्रावण २०७७, बिहीबार

जंगबहादुर शैलीमा ओली, नेकपालाई जसरी पनि कब्जा गर्ने रणनीतिमा



काठमाडौं । राणा प्रधानमन्त्री जंगबहादुर राणाले जसरी कसैलाई पनि टेरेनन् र कसैलाई पनि टिक्न दिएका थिएनन् । इतिहासकारले उनको स्वभाव र मनमौजी इच्छालाई स्वर्ण अक्षरले लेखेका छन् । अहिले नेकपामा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यही लाइनमा अग्रसर भएको देखिन्छ । उनी जंगबहादुरजस्तै आफ्ना विरोधीप्रति कडा रूपमा प्रस्तुत हुन थालेका छन् । आफ्ना विपक्षमा रहेकाको राजनीतिक भविष्य समाप्तै पार्ने गरी ओली अगाडि बढेका छन् ।

जंगबहादुरले भने आफ्ना विपक्षीलाई भौतिक रूपमै समाप्त पारेका थिए । जंगबहादुरले जस्तै ओलीले केही नरम पक्षलाई आफ्नो वशमा पारेर अरूलाई भने राजनीतिक रूपमै सिध्याउने कामको थालनी गरिरहेका छन् । उनले वामदेवलाई अब महाधिवेशनसम्म कतै नजाने गरी तानेका छन् भने पूर्वमाओवादीका केही नेताहरूलाई पनि प्रचण्डको पक्षमा नजाने गरी तान्न सफल भएका छन् । थप केही नेताहरूलाई पनि तानेर ओलीले पार्टीमा एकलौटी राज गर्ने रणनीति तयार गरेका छन् ।

ओलीको जंगबहादुर शैलीले विरोधीलाई ठेगान लगाउने अडानको कारण आफू स्थायी समितिमा अल्पमतमा पर्दा पनि पार्टीको बैठक स्थगित गरेर नेकपामा देखिएका विवाद नयाँ मोडमा पु¥याएका छन् । यसले नेकपामा प्रचण्ड–माधव नेपाल समूहलाई पनि त्रसित पारिदिएको छ । प्रचण्डलाई नेकपाको कार्यकारी अध्यक्ष भनेर प्रचार गरिए पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको एकतर्फी निर्णयबाट मंगलबार स्थायी कमिटी बैठक नै स्थागित हुन पुगेको छ । यो घटनाले पनि ओली जंगबहादुर पथमा लम्किएको प्रस्टिन्छ ।

पार्टी बैठक स्थगित गरेका ओली स्थायी कमिटीमा अल्पमतमा छन् । अल्पमतमा भए पनि ओलीले गरेको निर्णय सबैले मान्नुपर्ने तर्क वामदेव गौतमले गर्दा प्रचण्ड–माधव नेपाल समूहले त्यसको खुलेर प्रतिवाद नै गर्न सकेका छैनन् । यसले राजनीतिमा नयाँ तरङ्ग ल्याउने देखिएको छ । बहुमत स्थायी कमिटी सदस्य जम्मा भए पनि बैठकको सट्टा भेला भएर तितरबितर भएका छन् । यसमा वामदेव गौतमको ठूलो भूमिका रहेको छ । ओलीले नेकपा एमाले गठन गर्न लगाएको गम्भीर आरोप प्रचण्डले लगाएपछि बस्न लागेको बैठकलाई ओली एक्लैले स्थगित गरिदिएपछि पार्टीमा को शक्तिशाली भन्ने बहसले अझै निष्कर्ष निकाल्न सकेको छैन । जे गरे पनि ओली जंगबहादुरजस्तै एकल शक्ति केन्द्र निर्माणमा थप सक्रिय भएको प्रस्ट देखिन्छ ।

स्थायी कमिटी बैठकको बीचको समयमा प्रचण्ड–नेपाल समूहमा रहेका वामदेव गौतमले मंगलबार विज्ञप्ति नै जारी गरेर अहिले सबैले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष मान्नुपर्ने भन्दै उनलाई हटाउने हो भने निर्वाचन र महाधिवेशन नै कुर्न पार्टीपङ्क्तिलाई जानकारी गराएपछि नेकपामा तरङ्ग उत्पन्न भएको हो । ओलीले अब धेरैलाई प्रयोग गरेर आफ्नो प्रतिरक्षामा उभ्याउन लगाउने देखिन्छ । नेकपामा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा पनि ओली समूहमै खुलेर लागेका छन् । यसले पनि ओलीलाई जंगबहादुर पथमा लम्किन थप हौसला पुगेको छ । गौतमले मंगलबार विज्ञप्ति जारी नगरी बसेको भए प्रचण्ड–नेपाल पक्षले बैठक बसेर बहुमतले निर्णय गरेर अगाडि बढ्ने तयारी गरेका थिए । तर, गौतमको विज्ञप्तिले सबैलाई त्रसित र सशङ्कित बनाएको छ ।

गौतमले जुन विज्ञप्ति जारी गरे प्रधानमन्त्री ओलीका अडान पनि तिनै हुन् । अर्थात् प्रधानमन्त्री छाड्ने हो भने निर्वाचनमा जाने, पार्टी अध्यक्ष चाहिएको हो भने महाधिवेशन गर्ने । महाधिवेशनका लागि नेपाल समूह तयार देखिए पनि प्रचण्ड भने डराएका छन् । पूर्वएमालेका नेताहरूसमेत रहेको एकीकृत पार्टीको एकल अध्यक्ष बन्ने प्रचण्डको योजना असफल हुने सङ्केत देखिँदै गएको छ । अब महाधिवेशनमा कि ओली आफू अध्यक्ष लड्ने र दोस्रोमा वामदेवलाई राख्ने । त्यो पनि भएन भने ओलीले आफ्नोतर्फबाट गौतमलाई अध्यक्षमा समर्थन गर्ने तानाबाना बुनिरहेको देखिन्छ ।

हिलेको सङ्कटमा ओलीलाई खुलेर गौतमले साथ दिएपछि नेकपाभित्र सबैले गौतमलाई आगामी महाधिवेशनमा ओलीको उम्मेदवारको रूपमा लिएका छन् । केही समय अगाडिसम्म गौतमले ओलीले पद त्याग गर्नुपर्छ भनेर प्रचण्डको भेलामा जाने गरेका थिए । भेलामा रामबहादुर थापा बादल पनि गएका थिए । तर, अहिले फेरि बादल पनि ओलीतिरै फर्किएका छन् । यसले प्रचण्ड–नेपाल समूहलाई निर्णय गर्न समस्या परेको छ । प्रचण्डले खुलेरै ओलीलाई नेकपा दर्ता गर्न लगाएको भनेर मुख छाडेर बोलेपछि अब ओलीले प्रचण्डलाई पार्टीभित्र उठ्नै नसक्ने बनाउने रणनीति गर्न सक्ने अड्कल राजनीतिक वृत्तमा भइरहेको छ ।

प्रचण्डको पेलाइमा परेका पूर्वमाओवादीलाई पनि ओलीले महाधिवेशनमा उचित स्थान दिने भएपछि महाधिवेशनमा ओली पक्ष हाबी हुन सक्ने अड्कल नेकपाका मध्यमार्गी नेताहरूले गरिरहेका छन् । ओलीले आफ्नो पक्षमा जिल्ला–जिल्लामा समर्थकहरूलाई सडक आन्दोलन पनि गर्न लगाएका थिए । अर्थात् जसरी भए पनि पार्टीमा प्रचण्डलाई उठ्नै नसक्ने अवस्थामा पु¥याउने योजनाका साथ ओली अगाडि बढेको सङ्केत देखिएको छ ।
त्रिशुली प्रवाहबाट


प्रतिक्रिया दिनुहोस्