बैंकिङ्ग प्रणालीबाट एकैदिन बाहिरियो ८५ अर्ब: कर्जा लगानी घट्यो, अन्तर बैंक ब्याजदर ६ प्रतिशतले बढ्यो « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंकिङ्ग प्रणालीबाट एकैदिन बाहिरियो ८५ अर्ब: कर्जा लगानी घट्यो, अन्तर बैंक ब्याजदर ६ प्रतिशतले बढ्यो



काठमाडौं । बैंकिङ्ग प्रणालीबाट एकैदिन पौने खर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार एकदिनमै ८५ अर्ब रुपैयाँ निक्षेप बैंकिङ्ग प्रणालीबाट बाहिरिएको हो ।

साउन १ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५७ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, त्यसको भोलिपल्टै अर्थात साउन २ गते सोमबारसम्म आईपुग्दा भने घटेर ५६ खर्ब ५८ अर्ब रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुबाट मात्रै ८१ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। सोमबारसम्म आईपुग्दा बाणिज्य बैंकहरुको निक्षेप ४९ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएको छ । तर, साउन १ गते आइतबारसम्ममा भने बैंकहरुमा ५० खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

यस्तै, सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानीमा पनि घटेको छ । एक दिनमै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ७ खर्ब रुपैयाँले घटेको हो ।

हाल बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको छ । गत आइतबारसम्ममा भने यस्तो लगानी ४८ खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा वाणिज्य बैंकहरुको ऋण लगानी मात्रै ६ अर्बले घटेको हो । गत आइतबारसम्म बैंकहरुले ४३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, सोमबार भने घटेर ४३ खर्ब ६ अर्ब रुपैयाँ कायम भएको छ ।

एकैदिन ५.९८ प्रतिशतले बढ्यो अन्तर बैंक ब्याजदर

बैंकहरुबीच आन्तरिक रुपमा हुने कारोबार अर्थात अन्तर सापटी ब्याजदर पनि फेर बढेको छ । समिक्षा अवधिमा अन्तर बैंक ब्याजदर पनि ह्वात्तै बढेको हो । यस्तो ब्याजदर एकैदिन ५.९८ प्रतिशतले वृद्धि भएको छ ।

गत आइतबारसम्ममा शून्य दशमलव.५३ प्रतिशत रहेको यस्तो ब्याजदर सोमबार भने ६.५१ प्रतिशत पुगेको छ । एकैदिन निक्षेप ठुलो मात्रमा बाहिरिएपछि यस्तो ब्याजदर बढेको हो । केही दिनअघि बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर घट्दै गएको थियो । तरलता सहज हुँदैगएपछि यस्तो ब्याजदर केही दिन १ प्रतिशतभन्दा तल नै झरेको थियो । तर, फेरि बढ्न थालेको तथ्याङ्कले देखाउँछ ।

सीडी रेसियो पनि बढ्यो

बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि बढेको छ । गत आइतबारको तुलनामा सोमबार भने सीडी रेसियो बढेको हो । एकैदिन १ दशमलव शुन्य आठ प्रतिशतले बढेर ८२.९९ प्रतिशत पुगेको छ ।

यद्यपि, बैंकहरु कर्जा प्रवाह गर्ने मामिलामा सहज अवस्थामा देखिन्छन् । बैंकहरुले सीडी रेसीयो ९० प्रतिशतसम्म कायम गर्ने गरि कर्जा प्रवाह गर्न पाउछन् । तर, अहिले बैंकहरुको सीडी रेसियो ८३ प्रतिशत भन्दा पनि कम छ ।


प्रतिक्रिया दिनुहोस्