माण्डु हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा ११ करोड ३५ लाख ४५ हजार १४० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन ११ गते साँझ ५ ०५बजेसम्म २६ हजार ४२८ जनाले ५ लाख ५१ हजार १९० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि असार २८ गतेदेखि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने समय सकिएको छ तर स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरेको सेयरमा आवेदन दिने म्याद भने थप गरेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आइपीओ जारी गरेको हो । उक्त सेयरमा ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको वडा नं १ र २ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै, मकवानपुर जिल्लाकोे भिमफेदी गाउँपालिकाको वडा नं ५,६,७ र ८ तथा इन्द्र सरोपर गाउँपालीकाको वडा नं ३ का स्थानीय बासिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन हुनेछ ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा साउन ११ गतेसम्म वा सो अवधिमा माग बमोजिमको नगरेको खण्डमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।













