साताको बजारः मौद्रिक नीतिले बेखुसी लगानीकर्ता, अब कस्तो बाटो तय गर्ला ?
काठमाडौं । यो सातालाई लगानीकर्ताले विशेष रुपमा हेरेका थिए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने साताका भएकाले पनि लगानीकर्ताको ध्यान केन्द्रित थियो । भन्दाभन्दैं आइतबार केन्द्रिय बैंकले मौद्रिक नीति सार्वजनिक गर्यो ।
आइतबार मौद्रिक नीति सार्वजनिक भएको दिन बजार अर्ध सतक भन्दा माथि उचालियो । नेप्सेमा उच्च सुधार आउँदा परिसूचक पनि वर्ष कै उच्च हुन पुग्यो । सो दिन बजार ६३.२४ अकंले बढेर २२२७.१६ बिन्दुमा कायम भएको थियो । मौद्रिक नीतिमा सेयर धितो कर्जा पुनरावलोकन गरिनेछ भन्ने वाक्य पढेरै आम लगानीकर्ता हौसिएका थिए । मौद्रिक नीतिमा सीमाको कुरा नगरि पत्रकारसम्मेलन मार्फत सेयर धितो कर्जामा जोखिमभार घटाउँदा पुनः कर्जाको सीमा तोकिने गभर्नरको भनाई पछि बजार त्यसयता निरन्तर ओरालो लागेको थियो ।
साताको पहिलो दिन २२२७.१६ अकंमा बन्द भएको परिसूचक अन्तिम दिनसम्म पुग्दा २१६५.९७ बिन्दुमा बन्द भएको छ । साता भरी उतापचडाप भए पनि गत साता भन्दा परिसूचक निकै माथि हो ।
बजार ३७ अकंले ओरालो, कारोबार भने करिब दुई अर्ब बढ्यो
साताको पहिलो दिन मात्र सुधार आएको बजार त्यस यताका चार कारोबारको दिन भने राताम्य भएको हो । बजार साताभरी ३७.४३ अकंले घटेको हो ।

त्यस्तै, बजार घटे पनि कारोबार भने गत साता भन्दा सुधार देखिएको छ । यो साताका दुई कारोबारको दिन चार अर्ब माथि पुगेको कारोबार तीन दिन भने दुई अर्बमा सिमित भयो। कारोबार गत साता भन्दा १ अर्ब ९९ करोड ५२ लाख ८८ हजार ३४४ रुपैयाँले बढेको छ ।
गत साता १४ अर्ब ८८ करोड ६५ लाख ३८ हजार ४५१ रुपैयाँको कारोबार भएकोमा यो साता १६ अर्ब ८८ करोड १८ लाख २६ हजार ७९५ रुपैयाँ भएको हो ।

अब के होला त बजार ?
नेपाल राष्ट्र बैंकले आज निर्देशिका मार्फत सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) को १५० प्रतिशत जोखिमभारलाई परिमार्जन गरेको छ । केन्द्रीय बैंकले ५० लाख रुपैयाँसम्मको मार्जिन लेन्डिङको जोखिमभार १०० प्रतिशतमा झारेको हो । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशतको जोखिमभार रहेकोमा सोलाई बढाएर ५० लाखसम्म पुर्याइएको हो । यद्यपि, ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा भने पहिलेकै १५० प्रतिशतको जोखिमभारको व्यवस्था यथावत् राखिएको छ ।
लगानीकर्ताले सो कुराको बिरोध गरी रहेका छन् । बैंकहरु जोखिमभार बढी हुने क्षेत्रमा कर्जा प्रवाह गर्दैनन् । कर्जाको लागत बढी पर्न जाँदा ब्याज पनि महँगो हुन्छ । सो कुराले ठूला लगानीकर्ता प्रत्यक्ष असर गर्छ । ठूला लगानीकर्ताले करोडौं रुपैयाँ कर्जा लिएर लगानी गर्ने भएकाले सो कुराले उनीहरु निराश हुने देखिन्छ ।
२५ लाखसम्म मात्र जोखिमभार १०० प्रतिशत रहेकोमा ५० लाखसम्म १०० प्रतिशत पुराउदाँ समेत बजारले गति लिन सकेको छैन । यसबाट के बुझ्न सकिन्छ भने लगानीकर्ताको अपेक्षा बढी हुनु । लगानीकर्ताले सेयर धितो कर्जामा सीमा निर्धारण नगरी कर्जा शीर्षकमै जोखिमभार १०० प्रतिशत गर्नु पर्ने माग गरो थिए । यसअघि सोहि माग लगेर लगानीकर्ताहरुले गर्भनरलाई सुझाव समेत पेश गरेका थिए । तर सो ब्यवस्था नभएपनि ठूला लगानीकर्ता निराश पैदा भएको छ ।
लगानीकर्तालाई अझ सर्कुलर मार्फत खुकुलो बनाउनुको सट्टा अझ कस्ने कुरा आउने डर थिए । तर आज सर्कुलर मार्फत गर्भनरले नै भनेको कुरा आए पछि लगानीकर्तामा एक किसिमको राहत भने पक्कै मिलेको छ । लगानीकर्ताले अहिले ब्याङ्गे गर्दै मामा नहुनु भन्दा कानो मामा नै ठिक भनिरहेका छन् । सेयर धितो कर्जा लगानीकर्ताका लागि केहि खुकुलो बनेको हुदाँ बजारको आगामि यात्रा सकरात्मक नै हुने देखिन्छ । बैंकमा रहेको अधिक तरलता र घट्दो ब्याजदरले पनि बजार पुनः माथितिरै जाने जानकारहरुको तर्क छ ।













