साताको बजारः ३६ अकंले घट्यो बजार, कारोबारमा पनि पहिरो, ‘पर्ख र हेर’ कै रणनीतिमा लगानीकर्ता ! « Arthapath.com
६ असार २०८२, शुक्रबार

साताको बजारः ३६ अकंले घट्यो बजार, कारोबारमा पनि पहिरो, ‘पर्ख र हेर’ कै रणनीतिमा लगानीकर्ता !



काठमाडौं । यो साता लगानीकर्ताका लागि निराशाजनक नै रह्यो । पाँचै दिन कारोबार भएको यो साता दुई दिन राताम्य भयो भने तीन दिन बजार सुधार तिर लम्कियो । घटेका दुई दिन बजार भारि गिरावट आएको थियो । सोहि कारण बजार यो साता पनि खुम्चिन पुगेको हो ।

मौद्रिक नीति आउनुअघि सकरात्मक भइरहेको बजार सार्वजनिक भए यता निरन्तर घटि रहेको थियो । यसअघि सोमबार बजार केही सम्हालिए पनि मंगलबार पुनः घटेको थियो । तर बुधबार र बिहिबार भने फेरि सकारात्मक बनेको छ । बजार निरन्तर ओरालो लाग्दा सेयर मूल्य पनि सस्तो बन्दै बनेको छ ।

बजार ३६ अकंले घट्यो, ७ अर्बले खुम्चियो कारोबार

अघिल्लो साता ३७ अंकले घटेको बजार थप यो साता ३६.६४ अंकले घट्दै २ हजार ८९.८४ अंकको विन्दुमा बन्द भएको छ ।

बजार घटेसँगै कारोबार निकै तल पुगेको छ । यो साता कारोबार करिब साढे नौ अर्बमा सिमित बनेको हो । गत साता १६ अर्ब ८८ करोड १८ लाख २६ हजार ७९५ रुपैयाँ भएको कारोबार यो साता नौ अर्ब ८७ करोड ९७ लाख ३९ हजार १६१ रुपैयाँ समिति भयो । जुन गत साता भन्दा ७ अर्ब २० लाख ८७ हजार ६३४ रुपैयाँले कम हो ।

अबको यात्रा कता ?
बजारले विस्तारै सकारात्मक बन्ने प्रयास गरिरहेको छ । बजार बढी पनि खरिदबिक्री रकममा माथि उठ्न सकेको छैन । मौद्रिक नीतिपछि बजार लगातार घट्दा लगानीकर्ताको मनोविज्ञान कमजोर भएको देखिन्छ । अझै लगानीकर्तामा अन्यौल सिर्जना भइरहेको देखिन्छ । सोहि कारण पनि कारोबार रकम निरन्तर खुम्चिदै गएको अवस्था छ ।

परिसूचक समेत निरन्तर ओरालो लागेको छ । अब विस्तारै बजार माथितिरै हुने अनुमान गरिएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई आंशिक लचिलो नीति लिएको छ ।

यसअघि २५ लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशत रहेकामा अब ५० लाखसम्ममा जोखिमभार १०० प्रतिशत बनाइएको छ । यो नीति लगानीकर्ताको माग बमोजिम नभएपनि केहि लचिलो भने पक्कै भएको हो । तर करोडौं रुपैयाँ कर्जा लिएर लगानी गर्नेले भने खासै राहत पाएका छैनन् । यसकारण पनि बजारको गति विस्तारै अघि बढ्ने आंकलन गर्ने थालिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय रिपोर्ट समेत सार्वजनिक गरीरहेका छन् । समग्रमा वित्तीय विवरण कस्तो आउँछ भन्ने लगानीकर्ताहरुले चासोको रुपमा हेरेका छन् । साथै, रिपोर्टपछि लाभांश सिजन पनि सुरु हुनेछ । उक्त कुराले लगानीकर्तालाई खिचेको देखिन्छ । वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको, अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएको, रेमिटेन्स बढेको, शोधनान्तर राम्रो अवस्था र वैदेशिक मुद्रा सञ्चिति पनि ठीक रहेको हुदाँ यसले पनि बजार बढाउनमा ठुलो मद्धत गर्ने जानकारहरु बताउछन् ।

सेयर बजारमा लाभसँगै जोखिम पनि रहेको हुन्छ । वित्तीय अवस्था राम्रो रहेका र लाभांश क्षमता बलियो रहेका कम्पनीका लगानी गर्ने उपयुक्त बातावरण रहेको जानकारहरुको बनाइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्