१८ श्रावण २०८३, सोमबार

बैंकहरुको नाफा बढ्दै, तर बर्षेनी किन खुम्चिदै लाभांश ?



काठमाडौं । बैंकहरुको औसत लाभांश क्षमता घट्दै गएको छ । गत आर्थिक बर्ष २०७९/८० मा २० वाणिज्य बैंकको औसत लाभांश वितरण क्षमता ११.५१ प्रतिशत देखिएको छ । वाणिज्य बैंकहरुको कुल वितरणयोग्य नाफाको आधारमा लाभांश वितरण क्षमता सो बराबरको देखिएको हो ।

गत आवमा ७० अर्ब बढी खुद नाफा कमाएका बैंकको वितरणयोग्य नाफा भने ३१ अर्ब ९० करोड ३१ लाख रुपैयाँ बराबर रहेको छ । उनीहरुको कुल चुक्तापुँजी भने ३ खर्ब ६४ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ रहेको छ । त्योअनुसार उनीहरुको लाभांश क्षममता ११.५१ प्रतिशत देखिएको हो ।

बाणिज्य बैंकहरु हाल नेपालमा २० वटा बाणिज्य बैंक सञ्चालनमा छन् । बैंकहरुले अन्तिम लेखा परिक्षण गरेर लाभांश घोषणा गर्न बाँकी नै छ । अपरिष्कृत वित्तिय विवरणले बैंकहरुको औसत लाभांश क्षमता भने कम देखाएको छ । लेखापरीक्षण गर्दा त्यो झन् घट्ने देखिन्छ । बैंकहरुको यो लाभांश दर अघिल्लो आव २०७८/७९ को तुलनामा कम हो । अघिल्लो आवमा बैंकहरुको औसत लाभांश दर १३.५१ प्रतिशत थियो । तर, यसपाली भने थप २ प्रतिशत बिन्दुले घट्ने देखिन्छ ।

पछिल्ला बर्षहरुमा बैंकहरुको लाभांश वितरण क्षमता यसैपनि कम हुँदै आएको थियो । यसपाली पनि त्यसले निरन्तरता पाएको छ । १३ वर्षअघि अर्थात आव २०६७/६८ मा बैंकहरुको लाभांश औसत लाभांश क्षमता २६.४१ प्रतिशत रहेको थियो । तर, अहिले भने बैंकहरुको लाभांश क्षमता २.२९ गुणाले घटेको छ । पछिल्ला आवहरुमा बैंकहरुको लाभांश दर निरन्तर घट्दै आएको छ ।

बैंकहरुले गत वर्ष कमाएको नाफा

बिशेषगरि बैंकहरुको चुक्ता पुँजी बढ्दै जाँदा लाभांश वितरण क्षमता घट्दै गएको छ । मर्जर, बोनस सेयर लगाायतका माध्यमबाट पछिल्लो समय बैंकहरुको चुक्तापुँजी बढ्दै गएको छ । बैंकहरु नगद भन्दा पनि बोनस शेयर बाड्नमै केन्द्रीत देखिन्छन् । जसले बैंकहरुको औसत लाभांश क्षमता कम हुँदै गएको एक बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले बताए ।

ती सीइओले अर्थपथसंग भने,–‘बैंकहरुले नगदभन्दा बोसन सेयर बाँड्न केन्द्रित छन् । सर्वसाधारण लगानीकर्ता पनि त्यही चाहान्छन् । तर, बढेको पुँजीको अनुपातमा बैंकहरुको आम्दानी तथा नाफा भने बढ्न सकेको छैन । त्यसले गर्दा पनि बैंकहरुको औसत लाभांश क्षमता कम भएको हो ।’

पछिल्लो समय विभिन्न कारणहरुले बैंकहरुको कर्जा असुली हुन नसक्दा पनि लाभांश दर प्रभावित हुन सक्ने उनले बताए । मुख्यत: बैंकहरु बोनस सेयर बाड्नमै केन्द्रीत हुँदा नै लाभांश दर कमी आएको उनको भनाई छ । ‘अहिले बैंकहरुको बोनस सेयर बाड्नु भनेको अर्काे बर्षको लागि स्वत: लाभांश क्षमता घटाउनु हो । बीचमा बैंकहरु बोनस सेयर बाड्नमै केन्द्रीत भए । तर, त्योअनुसार आम्दानी तथा नाफा कमाउन सकेका छैनन् । त्यसले गर्दा बैंकहरुको लाभांश क्षमता क्रमश घट्दै आएको छ’– ती सीइओले भने ।

अघिल्लो आवमा २०७८/७९ बैंकहरुको वितरणयोग्य नाफा अहिलेको भन्दा पनि कम थियो । त्यसबेला २९ अर्ब ४६ करोड वितरणयोग्य रहेको थियो । तर, त्यस बर्ष अहिलेको भन्दा पनि बढी लाभांश वितरण क्षमता थियो । तर, अहिले बैंकहरुको चुक्ता पुँजी बढ्दा नाफा बढेपछि लाभांश क्षमता घटेको हो ।

गत आवको हकमा भने आर्थिक संकटकै कारण लाभांश दर प्रभावित भएको उनको भनाइ छ । आर्थिक संकटका कारण गत आवमा बैंकहरुको कर्जा असुल हुन सकेन । त्यसले गर्दा खराव कर्जा अनुपात बढेको छ, फलस्वरुप बैंकहरुले जोखिम व्यवस्थापन (रिक्स प्रोभिजन) तथा लोन लस प्रोभिजनका लागि छुट्टाउने रकम बढेको छ, जुन रकम बैंकहरुले नाफाबाट छुट्टाउनुपर्छ । सोही कारण बैंकहरुको वितरणयोग्य नाफा घटेको छ । त्यसले गर्दा बैंकहरुको लाभांश दिने क्षमतामा थप ह्रास आएको बैंकरहरु बताउँछन् ।

गत वर्षको मुनाफाबाट कुनको बैंकको लाभांश क्षमता कति ?

१३ वर्षको तथ्याङ्क हेर्दा पनि बैंकहरुको औसत लाभांश क्षमता २२ प्रतिशतभन्दा माथि पुगेको छैन । पछिल्ला वर्षहरुका त झ्न खुम्चिँदै गएको देखिन्छ । आव २०६८/६९ मा पनि बैंकहरुको औसत लाभांश क्षमता २०.५८ प्रतिशत र आव २०६९/७० मा २२.२५ प्रतिशत रहेको थियो । त्यस आवदेखि यता भने क्रमश: खुम्चिँदै गएको देखिन्छ ।

आव २०७०/७१ मा बैंकहरुको औसत लाभांश क्षमता १९.६८, आव २०७१/७२ २३.२४ प्रतिशत, आव २०७२/७३ मा २२.४१ प्रतिशत रहेको थियो । तथ्याङ्क अनुसार आव २०७३/७४ देखि निरन्तर घटेको छ । सो आवमा बैंकहरुको औसत लाभांश क्षमता १७.३२ प्रतिशतमा झरेको थियो । यस्तै, आव २०७४/७५ मा १७.०५ प्रतिशत कायम भएको थियो ।

त्यसैगरि २०७५/७६ मा १६.९२ प्रतिशत, आव २०७६/७७ मा झन् घटेर १२.५२ प्रतिशत र आव २०७७/७८ मा १२.६६ प्रतिशत कायम भएको थियो ।

कुन वर्ष बैंकको औसत क्षमता कति ?