१६ प्रतिशतले बढेर साढे दुई खर्ब पुग्यो नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, लगानीको प्रतिफल १४ प्रतिशत

काठमाडौं । नेपालमा साढे दुई खर्ब वैदेशिक लगानी रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९ यस्तो देखाएको हो ।
उक्त प्रतिवेदन प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ कायम रहेको छ । जुन अघिल्लो आवको तुलनामा भने १६ प्रतिशतले बढी हो । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।
अघिल्लो आव २०७८/७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७८/७९ तयार पारिएको बताइएको छ ।
गत असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये सबैभन्दा बढी भारतको देखिएको छ । भारतबाट ८८ अर्ब ५९ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
दोस्रो स्थानमा रहेको चीनबाट भने २२ अर्ब ४५ करोड रुपैयाँ देखिएको छ । यस्तै, आयरल्याण्डबाट २० अर्ब २० करोड रुपेयाँ, सिङ्गापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा रहेको देखिन्छ । यस्तै, सेवा क्षेत्रमा ३७.३ प्रतिशत रहेको देखिन्छ ।
औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत, सेवा क्षेत्र अन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।
वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ। समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको छ ।