राष्ट्र बैंकले १० अर्ब आन्तरिक ऋण उठाउँदै « Arthapath.com
२४ आश्विन २०८०, बुधबार

राष्ट्र बैंकले १० अर्ब आन्तरिक ऋण उठाउँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्बको आन्तरिक ऋण उठाउने भएको छ । आगामी शुक्रवार राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘घ’ बोलकबोल माध्यमबाट विक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।

विकास ऋणपत्र असोज २५ गते बिहिबार अपरान्ह ३ बजेसम्म बोलकबोल र असोज २६ गते निष्काशन हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन ।

यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरीद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइनेछ । विसं २०८८ असोज २६ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरूपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा भने ब्याज कर लाग्नेछ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई विक्री गरिनेछ । कम्तिमा ५० हजार र अधिकतम कुल निष्कासित रकमको सीमा नबढाइ ५० हजारले भाग लिँदा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न पाइनेछ ।


प्रतिक्रिया दिनुहोस्