निफ्राले कर्जा पुर्नतालिकीकरण गर्न पाउने: होटल तथा रेष्टुरेन्ट, निर्माण उद्योग र जलविद्युत परियोजनालाई राहत « Arthapath.com
२९ आश्विन २०८०, सोमबार

निफ्राले कर्जा पुर्नतालिकीकरण गर्न पाउने: होटल तथा रेष्टुरेन्ट, निर्माण उद्योग र जलविद्युत परियोजनालाई राहत



काठमाडौं । पुर्वाधार विकास बैंक अर्थात् नेपाल पुर्वाधार विकास बैंक (निफ्रा) ले होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, ईटा/ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा पुर्नतालिकीकरण गर्न पाउने भएको छ ।

साथै, बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक/दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जालाई पनि पुर्नतालिकीकरण गर्न पाइने छ । साथै, त्यस्तो कर्जा पुनरसंरचना पनि गर्न पाइने छ ।

नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८० पुस मसान्तभित्र गरिसक्नु पर्नेछ । यद्यपि, २०७९ चैत मसान्तमा सक्रिय वर्गमा बर्गीकरण भएको कर्जालाई मात्रै पुनरतालिकीकरण र पुनरसंरचना गर्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

साथै, उपर्युक्त बमोजिम पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । यसका अलावा यसरी पुनरतालिकीकरण र/वा पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्ने बाइएको छ ।

बैंकले ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सक्ने निर्देशनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्