चाडबाडले बढायो नेपाल भित्रने रेमिट्यान्स, दुई महिनामै २ खर्ब २८ अर्ब ३७ करोड आयो « Arthapath.com
३० आश्विन २०८०, मंगलवार

चाडबाडले बढायो नेपाल भित्रने रेमिट्यान्स, दुई महिनामै २ खर्ब २८ अर्ब ३७ करोड आयो



काठमाडौं । विप्रेषण आप्रवाह (रेमिट्यान्स) २२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा नेपालमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आवको साउन–भदौको तुलनामा २२.१० प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । विशेषगरि चाडपर्व नजिकिएकाले पनि साउन र भदौमा नेपाल भित्रने रेमिट्यान्स बढेको हो ।

चालु आवको दुई महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४ हजार ४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २ खर्ब ५१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्