उद्योगमन्त्री रिजाल पुगे धौवादी फलाम खानि, ‘सुन्दा आनन्द लाग्ने’ सुझाव दिएर फर्किए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योगमन्त्री रिजाल पुगे धौवादी फलाम खानि, ‘सुन्दा आनन्द लाग्ने’ सुझाव दिएर फर्किए



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल धौवादी फलाम खानिको स्थलगत अनुगमन तथा निरीक्षण गर्न भनेर पूर्वी नवलपरासीको हुप्सेकोट पुगेका छन् ।

खानिबाट आइरन÷स्टील उत्पादन गर्नका लागि चार वर्ष अघि धौवादी फलाम कम्पनि लिमिटेडको स्थापना भएको थियो । यस क्षेत्रमा काम गर्ने प्राविधिक तथा दक्ष जनशक्तिको अभाव एवम् सीमित श्रोत साधनका वाबजूद पनि हालसम्म कम्पनीले गर्दै आएको प्रयास सह्रानीय रहेको मन्त्रि रिजालले बताए ।

उद्योगहरुको समुचित विकास नभई देशको आर्थिक तथा सामाजिक स्तर उकास्न नसकिने उनले बताए । रिजालले देशमा आयातित वस्तुहरुको मात्रा अत्यधिक हुँदा व्यापार घाटा दिन प्रतिदिन बढी रहेको तथा संचित वैदेशिक मुद्रामा व्यापक असर परिरहेको भने । अहिले देशमा रोजगारीको समुचित व्यवस्थापन नहुँदा युवाहरु दिनदिनै बिदेशिनु परेको उनले सुनाए ।

यस्तो असामान्य परिस्थितिमा धौबादी फलामखानी भण्डारको अधिकतम सदुपयोग गर्न फलाम÷स्टील उद्योग स्थापना गर्न आफ्नो प्राथमिकता रहेको उनले बताए । यसरी स्वदेशमै फलाम उत्खनन गरेर फलामजन्य बस्तुमा देशको कुल मागको करीव एक चौथाई हिस्सा परिपूर्ति गर्ने योजना उनले सुनाए । यसबाट देशको व्यापार घाटा कम गर्न मद्दत पुग्नुका साथै वैदेशिक मुद्रा संचितिमा समेत वृद्धि हुने पाठ पढाए।

हाल देशमा उत्पादन भईरहेको विद्युतलाई औद्योगीक क्षेत्रले समुचित उपयोग गर्नुपर्नेमा उनको जोड थियो । मन्त्री रिजालले भविष्यमा वातावरणीय प्रभाव न्युनीकरणका लागि बढी कार्वन उत्सर्जन गर्ने खनिज इन्धनलाई विस्थापित गरि हाइड्रोजन ऊर्जा श्रोतलाई सदुपयोग गर्न आफूले प्रयास गरिरहेको उनले सुनाए । उनले नविकरणीय स्रोतबाट प्राप्त ऊर्जा उपयोग गरी तयार पारिने फलामलाई ‘ग्रीन स्टिल’ नाम दिए र त्यस प्रकारले फलाम उत्पादन गर्ने लक्ष्य हासिल गर्नुपर्ने बताए ।

धौवादी फलाम कम्पनिको स्थापनापछि स्थानीय युवाहरूलाई रोजगारी सृजना तथा राजस्वमा समेत वृद्धि हुने अपेक्षा उनको थियो।


प्रतिक्रिया दिनुहोस्