बिक्री आम्दानी बढ्दा पनि कसरी घट्यो शिवम् सिमेन्टको नाफा ? « Arthapath.com
२८ माघ २०८०, आईतवार

बिक्री आम्दानी बढ्दा पनि कसरी घट्यो शिवम् सिमेन्टको नाफा ?



काठमाडौं । शिवम सिमेन्टको नाफा घटेको छ । कम्पनीको बिक्री आम्दानी बढ्दा पनि नाफा भने गिरावट आएको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा ६७.६७ प्रतिशत घटेको छ । समिक्षा अवधिमा कम्पनीले १४ करोड ८५ लाख ९७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । तर, गत आवको दोस्रो त्रैमासमा भने कम्पनीले ४७ करोड ३१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री लागत तथा अन्य खर्चहरु वृद्धि भएको देखिन्छ । त्यसबाहे अन्य आम्दानी पनि घटेको छ, जसले कम्पनीको खुद नाफा प्रभावित भएको हो ।

चालु आवको ६ महिनामा कम्पनीको आम्दानी भने ५.२९ प्रतिशत बढेर ३ अर्ब ५१ करोड ९९ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ३४ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल खर्च ७.६७ प्रतिशत बढेर ५० करोड ४२ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानीमा पनि ४७.४० प्रतिशत गिरावट आएर १ करोड २ लाख रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि १४ रुपैयाँ ९८ पैसाले घटेर ५ रुपैयाँ ९१ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ ६९ पैसा कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ छ। यता, जगेडा तथा कोषमा भने ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्