९ श्रावण २०८३, शनिबार

आन्तरिक हवाई उडानमा ठुलो हिस्सा ओगट्ने बुद्ध एयरको व्यापारमा छलाङ, एकै वर्ष १२ अर्ब १६ करोडको कारोबार



काठमाडौं । नेपालको आन्तरिक उडानमा वर्चस्व कायम गरेको बुद्ध एयर प्रालिको व्यापार बढाएको छ । एकै वर्ष बुद्ध एयरको व्यापार २०.५० प्रतिशत बढेको हो ।

कम्पनीले सन् २०२२ मा कुल १० अर्ब ९ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर, सन् २०२३ मा भने १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बढीको व्यापार गर्न सफल भएको छ । 

नेपालको हवाई क्षेत्रमा पहिलो निजी लगानीमा सञ्चालित बुद्ध एयरले पछिल्लो ४ वर्ष ६ महिनामा २५ अर्ब ३७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ। 

बुद्ध एयरको नेपालमा सबैभन्दा ठुलो र लामो इतिहास बोकेको कम्पनी हो । कम्पनीले नेपाली हवाई क्षेत्रमा विगत २७ वर्षदेखि सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीको अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत छन् । कम्पनीको बस्नेतकै धेरै स्वामित्व छ । यसका साथै कम्पनीमा शिखर इन्स्योरेनसको पनि ६ प्रतिशत हिस्सा छ । 

कम्पनीले चार वर्षमै व्यापार साढे दुई गुणा (२.४६) बढेको छ। सन् २०२० देखि सन् २०२३ सम्म आइपुग्दा कम्पनीको व्यापारमा उल्लेख्य सुधार आएको हो । सन् २०२० मा ४ अर्ब ९४ २० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले चालु आव (सन् २०२४/२५) को ६ महिनामै ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ। सो अवधिमा कम्पनीले १८ प्रतिशत नाफा कमाएको छ। नेपाली हवाई बजारमा बुद्ध एयरको हिस्सा ६७ प्रतिशत ओगटेको छ ।

बजार हिस्सा र यात्रु संख्या बढ्दै गएको कारण यसको व्यापारमा पनि सुधार भएको हो । पछिल्लो समयमा विदेशी पर्यटकको आगमनमा आएको बढोत्तरीले नै व्यापार पनि बढेको कम्पनीले जनाएको छ।  हाल नेपालमा बुद्ध, तारा,यति, श्री एयरलाइन्स, नेपाल एयरलाइन्स, सौर्य, सिता, सिम्रिक एयरलाइन्सले आन्तरिक उडान भर्दै आएका छन् । 

बुद्धले १ अर्ब ६० करोड २३ लाख रुपैयाँ  अर्थात् २ करोड ५५ लाख डलरको दीर्घकालीन र अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।  कम्पनीले ६० करोड ८३ लाख दीर्घकालीन र ९९ करोड ४० लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । 

हाल बुद्धसँग १६ वटा जहाज छन् । नेपाली यात्रुहरूको हवाई यात्रा सहज र सरल बनाउनैका लागि कम्पनीले कोभिड महामारीपछि ६ वटा जहाज खरिद गरेको थियो । गत साउनमा मात्रै कम्पनीले नयाँ जहाज किनेको थियो । कम्पनीसँग हाल ‘एटीआर ७२’ १३ वटा र ‘एटीआर ४२’ ३ वटा जहाज छन् । 

बुद्ध एयरले काठमाडौँबाट माउन्टेन, धनगढी, सुर्खेत, नेपालगन्ज, भैरहवा, पोखरा, चितवन, सिमरा, जनकपुर, राजविराज, तुम्लिङटार,विराटनगर र भद्रपुरमा उडान गरिरहेको छ ।  यसका साथै भारतको वाराणसीमा अन्तर्राष्ट्रिय उडान सेवा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्