१४ श्रावण २०८३, बिहिबार

४४ वटा म्युचुअल फन्डहरुको रिपोर्टः सेयर बजारमा लगानी, न्याभ र नाफामा कुनको अवस्था कस्तो ?



काठमाडौं । गत चैत महिनामा म्यचुअल फन्ड (सामूहिक लगानी कोषहरु) लाई खास सुखद रहन सकेन । फागुन महिनाको तुलनामा फन्डहरुको सेयर बजारमा लगानी, नाफा र प्रतिइकाई सम्पत्ति मूल्य (न्याभ) मा समेत गिरावट देखिएको छ ।

समिक्षा महिनामा फन्डहरुको सेयर बजारमा लगानी सामान्य घटेको छ । हाल संचालनमा रहेका ४४ वटा फन्डहरुले ३० अर्ब ६३ करोड ९९ लाख ५६ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । यो गत फागुनको तुलनामा भने २.२७ प्रतिशत कमी हो । गत फागुनमा पनि फन्डहरुले सेयर बजारमा ३० अर्ब ७२ करोड २४ लाख रुपैयाँ लगानी गरेका थिए । एक दर्जन बाहेकका फन्डहरुको सेयर बजारमा लगानी घटेको छ ।

सबैभन्दा धेरै लगानी एनआइबिएल सहभागिता फन्डको १ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ सेयर बजारमा छ । यस्तै, एनएमबि सरल बचत फन्ड–ईको १ अर्ब ३९ करोड ४ लाख, सिद्धार्थ इक्विटी फन्डको १ अर्ब १६ करोड ५ लाख, एनएमबि सुभल इन्भेष्टमेन्ट फन्ड–सेकेन्डको १ अर्ब ८ करोड ५६ लाख, एनएमि ५० को १ अर्ब ४ करोड ९६ लाख र सानिमा इक्विटी फन्डको १ अर्ब १ करोड २८ लाख रुपैयाँ सेयर बजारमा लगानी छ ।

चैत महिनामा फन्डहरुको ऋणपत्र (डिबेन्चर) मा ३ अर्ब ५० करोड रुपैयाँ, मुद्दति निक्षेपमा ४ अर्ब ३० करोड रुपैयाँ बैंक मौज्दातमा ७ अर्ब २९ करोड रुपैयाँ लगानी छ ।

यता, सेयर बजारमा आएको उत्तारचढावले फन्डहरुले कमाउने नाफामा पनि गिरावट आएको छ । गत फागनुमा फन्डहरुको नाफा ६६ करोड ४६ लाख १२ हजार रुपैयाँ नाफा कमाएका थिए । तर, चैत महिनामा भने यीनीहरुको नाफा घटेको छ । समग्रमा फन्डहरु घाटामा देखिएका छन् । समिक्षा महिनामा २१ वटा फन्डहरु मात्रै नाफामा देखिएका छन् । यी बाहेकका २३ वटा फन्डहरु भने घाटामा देखिएका हुन् ।

सो महिनामा सबैभन्दा धेरै नाफा प्रभु सेलेक्ट फन्डले ९ करोड १४ लाख ९८ हजार रुपैयाँ कमाएको छ । दोस्रो सूचीमा रहेको हिमालयन ८०–२० ले पनि ५ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, एनआइसी एशिया ग्रोथ फन्डको नाफा ५ करोड ४३ लाख ८३ हजार, एनआइसी डाइनमिकले ४ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् ।

सो महिनामा सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्ड घाटामा देखिएको छ । चैत महिनामा सो फन्ड १७ करोड ८८ लाख ८६ हजार रुपैयाँ घाटामा देखिएको हो । यस्तै, सनराइज ब्लुचिप फन्ड पनि १६ करोड ३० लाख घाटामा छ । यीसहित एनएमबि सरल बचत फन्ड–ई, सिद्धार्थ इक्विटी फन्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, लक्ष्मी उन्नती कोष, सानिमा इक्विटी फन्ड लगायतका फन्डहरुले घाटा व्यहोरेका छन् ।

चैतमा फन्डहरुको औसत न्याभ १० रुपैयाँ १३ पैसा कायम भएको छ । फागुनको तुलनामा भने प्रभु सेलेक्ट फन्ड बाहेक ४३ वटा फन्डहरुको न्याभ घटेको छ । चैतमा प्रभु सेलेक्ट फन्डको न्याभ १९ पैसा बढेर १० रुपैयाँ ७८ पैसा कायम भएको छ। चैत महिनामा सबैभन्दा धेरै एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–सेकेन्डको न्याभ ११ रुपैयाँ १५ पैसा छ । यता, सनराइज फर्स्ट म्युचुअल फन्डको न्याभ ११ रुपैयाँ ७ पैसा छ । सबैभन्दा कम न्याभ मेगा म्युचुअल फन्डको ८ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

कुनको अवस्था कस्तो ?