लघुवित्तका ऋणीलाई राहत, अब एउटै ऋणीले दुई वटा लघुवित्तबाट कर्जा पाउने

काठमाडौं । अब एउटा ऋणीलाई दुई वटा लघुवित्तले कर्जा दिन सक्ने भएको । आइतबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको हो ।
यसअघि भने एउटा मात्र लघुवित्तबाट लिनु पर्ने व्यवस्था थियो । तर, अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी भने लघुवित्तबाट कर्जा लिन योग्य नहुने राष्ट्र बैंकले जनाएको छ। यसका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त
वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकीन गर्नुपर्ने उल्लेख छ ।
तर, सोही पूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न यस व्यवस्थाले बाधा पु¥याएको नमानिने उल्लेख छ । साथै, साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्तले सीमा भन्दा बढी प्रवाह भएको कर्जा रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने छ ।
विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामुहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रति समूह सदस्य बढीमा ५ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था छ ।
विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यको हकमा ७ लाख रुपैयाँको सीमा कायम गरिएको छ । तर, प्रति परिवार २५ हजार रुपैयाँसम्मको कर्जा पारिवारिक जमानीमा मात्र समेत प्रदान गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ ।
नवीकरणीय ऊर्जा प्रविधि अन्तर्गत सोलार हो सिस्टम, वायो ज्यास, र न्यून लागतमा घर निर्माण प्रयोजनको लागि प्रति परिवार बढीमा ३ लाख रुपैयाँसम्मको लघुकर्जा उपलब्ध गराउन सकिने छ ।