विकास बैंकहरुको नाफाः मुक्तिनाथ र गरिमा अर्ब क्लबमा, सांग्रिला र कामना सेवाको तगडा ग्रोथ

काठमाडौं । विकास बैंकहरुको नाफामा पनि बढोत्तरी देखिएको छ । राष्ट्रियस्तरका आठ विकास बैंकहरुले नाफा ४७ करोड ७१ लाख रुपैयाँ बढाएका छन् ।
बैंकहरुले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा ती बैंकहरुले ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जुन अघिल्लो आवको तुलनामा ९.३९ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकहरुले ५ अर्ब ७ करोड ९७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
गत वर्ष दुई वटा बैंक मुक्तिनाथ र गरिमा मात्रै अर्ब क्लबमा देखिएका छन् । सर्वाधिक नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । गत वर्ष मुक्तिनाथ विकास बैंकले १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा २.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि बैंकको १ अर्ब २४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, गरिमा विकास बैंकले पनि १ अर्ब १३ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ ।तर, गरिमाको नाफा अघिल्लो आवको तुलनामा भने १०.१६ प्रतिशत कमी हो ।
नाफा ग्रोथमा भने सांग्रिला डेभलपमेन्ट र कामना सेवा विकास बैंक तगडा देखिएका छन् । गत वर्ष सांग्रिलाले खुद नाफा ९२.४७ प्रतिशत बढाएर ५२ करोड ४ लाख रुपैयाँ कायम भएको छ । यता, कामना सेवाले पनि नाफा ६६.९३ प्रतिशत बढाएर ६० करोड ३२ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा यी दुई बैंकले क्रमशः २७ करोड ४ लाख र ३६ करोड १३ लाख रुपैयाँ नाफा कमाएका थिए ।
यस्तै, गत वर्ष शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६९ करोड ७४ लाख, लुम्बिनी विकासले ६० करोड ३७ लाख, महालक्ष्मी ४७ करोड १ लाख र ज्योति विकास बैंकले २४ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका छन्।