कामना सेवा र गरिमाको लाभांश क्षमता उच्च, यो वर्ष कसले कति दिन सक्छन् सेयरधनीलाई ?

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरले यो वर्ष आफ्ना सेयरधनीलाई झन्डै ११ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता भएका छन् ।
आठ वटा विकास बैंकहरुले सोमबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष ती बैंकहरुले ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले अघिल्लो वर्ष ५ अर्ब ७ करोड ९७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
गत वर्ष ९.३९ प्रतिशत नाफा बढाएका बैंकहरुले सेयरधनीलाई लाभांश भने औसतमा ६.३८ प्रतिशत दिन सक्ने हैसियत बनाएका हुन् । यो वर्ष सबैभन्दा धेरै लाभांश दिन सक्ने सामार्थ्य कामना सेवा विकास बैंकले बनाएको छ । बैंकले आफ्ना सेयरधनीलाई यो वर्ष १०.९१ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको हो । कामना सेवाले अघिल्लो आवको तुलनामा नाफा ६६.९३ प्रतिशत बढाएर ६० करोड ३२ लाख रुपैयाँ पुर्याएको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १८ रुपैयाँ ३८ पैसा छ । बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ छ ।
यस्तै, गरिमा विकास बैंकले दोहोरो अंककै दरमा लाभांश दिन सक्ने क्षमता बनाएको छ । गत वर्ष १ अर्ब १३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले पनि १०.५२ प्रतिशत लाभांश दिन सक्ने हैसियत बनाएको छ । बैंकको वितरणयोग्य नाफा ५९ करोड ७४ लाख ९६ हजार रुपैयाँ छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँ छ।
यता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि ८.१२ प्रतिशत लाभांश दिन सक्ने हैसियतमा देखिएको छ । बैंकले गत वर्ष ६९ करोड ७४ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको वितरणयोग्य नाफा ३८ करोड ४२ लाख ९६ हजार रुपैयाँ छ । हाल बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ छ ।
त्यसैगरि लुम्बिनी विकास बैंकले पनि ७.४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । बैंकले गत वर्ष ६० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १७ रुपैयाँ १६ पैसा कायम भएको छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ छ ।
यस्तै, सांग्रिला डेभलपमेन्टले ५.१८ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ४.७१ महालक्ष्मी विकास ४.२५ प्रतिशत लाभांश दिन सक्ने हैसियतमा छन् । हाल यी बैंकहरुको प्रतिसेयर आम्दानी (इपिएस) क्रमशः १५ रुपैयाँ १७ प्रतिशत, १८ रुपैयाँ १५ पैसा, ११ रुपैयाँ २७ पैसा रहेको छ ।
तर, ज्योति विकास बैंक भने यो वर्ष लाभांश बाँड्न नसक्ने अवस्थामा देखिएको छ । गत वर्ष २४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तर, वितरणयोग्य नाफा ४० करोड ५२ लाख ३ हजार रुपैयाँ ऋणात्मक छ । बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६१ पैसा छ ।