नाफामा नम्बर वान् बन्यो शाइन रेसुङ्गा : मुक्तिनाथलाई पच्छ्याउँदै महालक्ष्मी र गरिमा, नोक्सानीमा ६ वटा बैंक

काठमाडौं । एक महिनामा विकास बैंकहरुले ८५ करोड बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
हाल संचालनमा रहेका विकास बैंकहरुले औसतमा ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । साउनमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सर्वाधिक नाफा कमाएको छ । बैंकले एकै महिना २० करोड २० लाख रुपैयाँ नाफा कमाएको हो ।
यसअघि प्रायः मुक्तिनाथ विकास बैंकले नाफामा बर्चश्व कायम गर्दै आएको थियो । तर, साउन महिनामा भने सबै विकास बैंकलाई शाइन रेसुङ्गाले उछिनेको हो । बैंकको नाफा अघिल्लो आवको साउनको तुलनामा भने १८०.९४ प्रतिशत बढी हो । गत वर्षको साउनमा बैंकले ७ करोड १९ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
साउनमा मुक्तिनाथ विकास बैंकले १६ करोड ९६ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको तेस्रो स्थानमा भने महालक्ष्मी विकास बैंक देखिएको छ । बैंकले एक महिनामै १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस्तै, गरिमा विकास बैंकले ९ करोड ४६ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख, ज्योति विकासले ८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता, सांग्रिला डेभलपमेन्ट बैंकले ६ करोड ८१ लाख, लुम्बिनी विकास बैंकले ३ करोड ६३ लाख, सिन्धु विकास बैंकले ३१ लाख, सालपाले २९ लाख, कर्पोरेट डेभलपमेन्टले १६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यी बाहेकका अन्य ६ वटा विकास बैंक भने नोक्सानीमै छन् । साउनमा सबैभन्दा धेरे नोक्सानी एक्सेल डेभलपमेन्ट बैंकले व्यहोरेको छ । बैंक ६ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ।
यस्तै, ग्रीन डेभलपमेन्ट बैंक ८६ लाख, सप्तकोशी ५४ लाख, नारायणी ५१ लाख, कर्णाली, ४८ लाख र मितेरी डेभलपमेन्ट बैंक २२ लाख रुपैयाँ नोक्सानीमा देखिएका छन् ।