विदेशी विनिमय सञ्चिति झन्डै २१ खर्ब पुग्यो, एक वर्ष बढीको आयात धान्न पुग्ने « Arthapath.com
१० आश्विन २०८१, बिहीबार

विदेशी विनिमय सञ्चिति झन्डै २१ खर्ब पुग्यो, एक वर्ष बढीको आयात धान्न पुग्ने



काठमाडौं । एक महिनामै कुल विदेशी विनिमय सञ्चिति झन्डै २१ खर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तिीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।


साउनमा यस्तो सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यो गत असार मसान्तसम्मको तुलनामा भने २.५ प्रतिशत बढी हो । गत असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । तर, साउन मसान्तमा २.० प्रतिशत वृद्धि भई १५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । तर, साउन मसान्तमा १.९ प्रतिशत वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति साउन मसान्तमा ८.४ प्रतिशत वद्धि भई २ खर्ब ८ अर्ब ७९ करोड कायम भएको छ । गत असार मसान्तमा भने यस्तो सञ्चिति १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्