निर्यात बढाउने अवस्था सृजना गराउन उद्योगीलाई प्रधानमन्त्रीको आग्रह - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निर्यात बढाउने अवस्था सृजना गराउन उद्योगीलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेका छन । नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन आज गर्दै प्रधानमन्त्री ओलीले निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यस अनुसारको व्यापारवृद्धि गर्न सक्नुपर्नेमा जोड दिएका हुन ।

प्रधानमन्त्री ओलीले नेपाललाई न्यून आय भएको मुलुकबाट स्तरोन्नति गराउन सबै जुट्नुपर्ने आवश्यकता औंल्याए । उनले विज्ञान र प्रविधिको प्रयोग गरेर विभिन्न सामाजिक क्रियाकलाप र उत्पादन बढाउन लाग्नुपर्ने बताए । अहिलेको सरकार अर्थतन्त्रको विकासका लागि अत्यन्तै गम्भीरताका लागि लागिरहेको पनि बताए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले देखिएको व्यापार आँकडा सहि नभएको समेत बताएका छन् ।‘हाम्रो जुन व्यापारको आँकडा देखिएको छ, त्यो पनि सही सत्य होइन, त्यो नक्कली आँकडा हो । हामीसँग जुन, जति उत्पादन छैन, त्यो पनि व्यापार देखिएको छ ।’ उनले आफैँले उत्पादन गरेका सामान बिक्री गर्न सके मात्रै त्यसलाई वास्तविक व्यापार मान्न सकिने उनको भनाइ छ ।

पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा भएको जनाए । 

पूर्वाधार विकासका क्रममा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउँदै अन्य विमानस्थलहरु विस्तारका साथै नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेकाले यी सबै उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि थालिएको स्पष्ट पारेका थिए ।

नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका गरी एक सय २५ स्टल रहेको चेम्बरको मेला यही माघ २१ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया दिनुहोस्