विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकसँग गभर्नर पद साट्न लागिएको हो ?

काठमाडौँ । गत सोमबार बसेको मन्त्री परिषद बैठकले नेपाल विद्युत् प्राधिकरणमा नयाँ नेतृत्व स्थापित गर्ने र नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट प्रक्रिया अघि बढाउने गरी औपचारिक निर्णय गरेको छ ।
यी दुई घटना एक साथ हुनुले प्राधिकरण र केन्द्रिय बैंकको नेतृत्व भागबण्डा गरिएको हुनसक्ने अनुमान गरिन थालेको छ । प्राधिकरणको कार्यकारी निर्देशकमा एमाले कोटाबाट हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
यसअघि राष्ट्र बैंकको गभर्नर एमालेको भागमा जाने ‘लगभग निश्चित’ ठानिएको थियो । तर अब परिस्थिति फेरिएजस्तो देखिएको एक मन्त्रीले अर्थपथलाई बताए ।
‘केन्द्रिय नेतृत्व तहमा केही सल्लाह भएको छ कि छैन भन्ने स्पष्ट छैन । तर परिस्थितिले नयाँ मोड लिएको देखिन्छ’ ती मन्त्रीले भने ।
कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुँदा उनैको निर्देशनमा कुलमान घिसिङले दोस्रो पल्ट प्राधिकरणको नेतृत्व हात पारेका थिए । तर कार्यकाल समिनुभन्दा केही महिनामात्रै बाँकी छँदा उनलाई सरकारले प्राधिकरणबाट हटाएको छ ।
यससँगै अब कांग्रेसले केन्द्रिय बैंकको नेतृत्वमाथि दाबी गर्ने संभावना बढेर गएको ती मन्त्रीको भनाइ छ ।
अहिले राष्ट्र बैंकमा एमाले निकट महाप्रसाद अधिकारी गभर्नर छन् । उनको कार्यकाल आगामी हप्ता सकिँदै छ । योभन्दा अगाडी हेर्ने हो भने पनि एमालेबाट युवराज खतिवडा गभर्नरको रुपमा पुरा कार्यकाल काम गरेका थिए । त्यसपछि कांग्रेसको कोटाबाट चिरञ्जिवी नेपाल गभर्नर बने ।
नेपालपछि केन्द्रिय बैंक एमालेको कोटामा पुगेको थियो । अब ‘रोलक्रम’ले पनि कांग्रेसको भागमा गभर्नर पर्नुपर्ने भनेर दलका शीर्ष नेताहरुले नै सभापति शेरबहादुर देउवामाथि दबाब दिइरहेका छन् ।
कांग्रेस नेता शेखर कोइरालाले त राज्य सञ्चालनमा कांग्रेसको भूमिका नदेखिएको भन्दै गभर्नर नियुक्तिमा चासो राख्न सार्वजनिक रुपमै सभापतिको ध्यानाकर्षण गराएका थिए । त्यसपछि परराष्ट्र मन्त्री आरजू राणा देउवाले भागबण्डामा कुरा नमिलेसम्म नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउन नमानेको समाचारहरु आएका थिए ।
केही दिन यता कांग्रेस संस्थापन पनि गभर्नरलाई ‘बेसलाइन’ बनाउने दाउमा देखिएको थियो । सभापति देउवाका लागि राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाहेक अरु पदमा खासै ‘आँखा’ लाग्दैन ।
अहिले सिंगो अर्थतन्त्र नै अप्ठेरोमा परेका बेला गभर्नर पदमा ‘उदारवादी’ छबिको व्यक्ति आउनु पर्ने माग सेयर बजारमा पनि ब्याप्त रहँदै आएको छ । पछिल्लो समय सेयर बजारले गभर्नर अधिकारीको बहिर्गमनमा ‘खुसी मनाएको’ थियो ।
यी घटनाको बीचमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकको शीर्ष पदबाट राजिनामा दिएका छन् । उनी लामो समयदेखि गभर्नर बन्ने कोसिसमा लागेका थिए । यसअघि नेपाल बंगलादेश बैंकको सीईओ रहँदा पनि उनी गभर्नर बन्ने कोसिसमा देखिएका हुन् ।
एमालेको भागमा गभर्नर पर्दा सबैभन्दा बलियो दाबेदार देखिएको अशोक शेरचनले अहिलेसम्म राजिनामा दिएका छैनन् ।
ढुंगानाले त्यहाँको प्रबद्र्धक समूहसँग कुरा नमिलेको बेलामा ‘मौका छोपेर’ बैंकबाट अवकाश लिन खोजेका हुन् भने अर्कै कुरा भयो । तर हुँदाखाँदाको जागिर छाडेर निस्किनुलाई उनको गभर्नर बन्ने ‘संभावना बढेको’ रुपमा पनि कतिपयले हेरेका छन् ।