कालोबजारी गर्ने कालीमाटीका व्यापारीलाई ५० हजार जरिवाना « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

कालोबजारी गर्ने कालीमाटीका व्यापारीलाई ५० हजार जरिवाना



काठमाडौं । उद्योग वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्याज र आलुमा कालोबजारी गर्ने एक जनालाई ५० हजार रुपैयाँ जरिवाना गरको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारका एक व्यापारीलाई आज विभागबाट खटिएको टोलीले ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागका सूचना अधिकारी रबीन्द्र आचार्यका अनुसार उनले प्याज र आलु मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएकोले ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

यस्तै, विभागले चन्द्रागिरी नगरपालिका ८ को एक ग्यास स्टोरलाई कागजसहित विभागमा उपस्थित हुन पनि आदेश दिएको छ ।

त्यस्तै, सरकारले तोकेको मापदण्ड पूरा नगरी स्यानिटाइजरको उत्पादन र बिक्री गर्ने पूर्वको एक उद्योग कारबाहीमा परेको छ ।

औषधि व्यवस्था विभागको विराटनगरस्थित प्रादेशिक कार्यालयले सुनसरीको नरसिंह गाउँपालिका ४ स्थित सीता हर्बल केमिकल उद्योगलाई कारबाही गरेको हो ।

कार्यालयका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काका अनुसार उद्योगले स्यानिटाइजरमा हानिकारक वस्तु हालेको पाइएपछि कार्यालयले उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

सीता हर्बल केमिकल उद्योगले गत वैशाख महिनादेखि ‘क्लिन ह्यान्ड’ ब्रान्डमा स्यानिटाइजरको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको थियो ।

निरीक्षक खड्काले उद्योगले मापदण्डविपरीत ‘मिथानोल स्पिरिट’ हालेर स्यानिटाइजर उत्पादन गरेको पाइएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्