बञ्चरेडाँडा ल्याण्डफिल साइडको ९० प्रतिशत कार्य सम्पन्न, कार्तिकबाट फोहोर विसर्जनः राज्यमन्त्री मानन्धर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने बताएका छन् । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए । कोरोनाका कारण जारी भएको लकडाउनका कारण समस्या देखिए पनि दशैं अगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनले बताए । मन्त्रीले कार्तिकबाट नै फोहोर विसर्जन गर्ने पनि दावी गरेका छन् ।
बन्चरेडाँडाँमा काठमाडौं उपत्यकाका २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ । बन्चरेडाँडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि वर्षौंसम्म फोहोर व्यवस्थापन नगरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।