स्थायित्वतर्फ एलआइसी नेपालको पाइला : नाफामा उल्लेख्य सुधार, यस्तो छ वित्तीय प्रगति

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एआइसी) नेपालको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीको नाफा साढे २२ प्रतिशत वृद्धि भएको छ ।
सोमबार कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
९ महिनामा कम्पनीले २३ करोड ६० लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने २२.६६ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा कम्पनीले १९ करोड २४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ८.४३ प्रतिशत वृद्धि भई १३ अर्ब ९५ करोड ४५ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले १९ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा पनि ७.५२ प्रतिशत वृद्धि भई ७ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ कायम भएको छ । कमिसन मार्फत हुने आम्दानी पनि ४५ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ११ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल आम्दानीमा पनि ७.९५ प्रतिशत बढोत्तरी देखिएको छ । कम्पनीले ९ महिनामा २३ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । जबकि, गत आवको सो अवधिमा भने कम्पनीको यस्तो आम्दानी २१ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ रहेको थियो । यता, कम्पनीको कुल खर्च पनि ७.८९ प्रतिशत बढेर २१ अर्ब १८ करोड कायम भएको छ ।
कम्पनीको दावी भुक्तानी ७.९१ प्रतिशत बढेर १९ अर्ब ५२ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको जीवन बीमा कोषको आकार पनि १०.९० प्रतिशत बढेर १ खर्ब २९ अर्ब ८० करोड ९३ लाख रुपैयाँ पुगेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ६.२९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९८.९७ रुपैयाँ कायम भएको छ ।