पर्यटन फलिफाप : होटेलहरुको व्यापार चम्किँदै, नाफा भने किन खस्किँदै ?

काठमाडौं । पछिल्लो समय मुलुकमा विदेशी पर्यटक आगमनमा उल्लेख्य वृद्धि भइरहेको छ । अर्को तर्फ आन्तरिक पर्यटन समेत फस्टाउँदै गइरहेको छ ।
यस्तो परिदृश्यमा होटेल तथा पर्यटन क्षेत्रको व्यापारमा सकारात्मक सुधार देखिएको छ । तर, व्यापारमा देखिएको विस्तार सँगसँगै नाफा वृद्धिदर भने अपेक्षाअनुसार देखिएको छैन । व्यापारमा उल्लेख्य सुधार नै छ । तर, नाफा वृद्धिदर भने दबाबमा देखिएको छ ।
हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा होटेल तथा पर्यटन समूहका ६ वटा कम्पनीहरु सूचीकृत छन् । हाल नेप्सेमा सोल्टी होटल, सिटी होटेल, तारागाउँ रिजेन्सी, ओरियण्टल होटल, चन्द्रागिरी हिल्स् र कालिञ्चोक दर्शन सूचीकृत छन् ।
ती कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार व्यापारमा उत्साहजनक वृद्धि देखिए पनि नाफा भने केवल १.५८ प्रतिशतले मात्र बढेको देखिन्छ ।
समग्रमा कम्पनीहरुले नाफा ८० करोड ३६ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि ७९ करोड १० लाख ८५ हजार रुपैयाँ नाफा कमाएका थिए ।
व्यापारमा सुधार, नाफामा थोरै वृद्धिदर
९ महिनाको अवधिमा सूचीकृत होटेलहरुको कुल व्यापार ४ अर्ब ७४ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यो आँकडा ४ अर्ब ३५ करोड ५५ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा ती कम्पनीहरुको व्यापार ८.८५ प्रतिशत बढेको हो ।
पर्यटक आगमन वृद्धिको सकारात्मक असर बजारमा देखिएको हो । पछिल्ला तीन महिना—माघ, फागुन र चैतमा मात्र ४ लाख १५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । यो हवाई मार्ग मार्फत आएका आँडका हो ।
यता, स्थल मार्गबाट विशेषगरी भारत र बंगलादेशबाट उल्लेख्य मात्रामा पर्यटकको आवागमन भएको छ । यो प्रवृत्तिले आगामी दिनमा होटेल सेवाको माग अझै बढ्ने अपेक्षा समेत गरिएको छ ।
सोल्टी होटलको उत्कृष्ट प्रदर्शन, नाफा र व्यापारमा चमक
समीक्षा अवधिमा सोल्टी होटलले व्यापार र नाफामा दुवै पक्षमा सबल उपस्थिति देखाएको छ । ९ महिनामा सोल्टीले १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । होटेलको व्यापार पनि १२.४७ प्रतिशत बढेको हो ।
व्यापारसँगै नाफा पनि दोहोरो अंकमै वृद्धि भएको छ । होटेलको नाफा १३.३५ प्रतिशत बढेर ४६ करोड ७३ लाख ९३ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा ४१ करोड २३ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले पर्यटनसम्बन्धी व्यावसायिक गतिविधिमा सापेक्षिक वृद्धि भएको र अन्तर्राष्ट्रिय पर्यटक आगमनले सकारात्मक प्रभाव पारेको जनाएको छ ।
व्यापारमा आक्रामक तारागाउँ रिजेन्सी, नाफा स्थिर
व्यापार र नाफाको आधारमा दोस्रो पोजिशनमा तारा गाउँ रिजेन्सी छ । कम्पनी व्यापार विस्तारमा निकै आक्रामक देखिएको छ । ९ महिनाको व्यापार वृद्धिदर ४१.४ प्रतिशत छ । ९ महिनामा तारा गाउँले १ अर्ब ३ करोड १८ लाख रुपैयाँ बराबरको व्यापर गर्न सफल भएको छ । तर, गत आवको सोही अवधिमा भने कम्पनीले ७२ करोड ९७ लाख रुपैयाँ बराबरको मात्रै व्यापार गरेको थियो ।
व्यापारसँगै कम्पनीको नाफा बढेको छ । ९ महिनामा कम्पनीले ३३ करोड ७५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, यो नाफा गत आवको तुलनामा भने १.२८ प्रतिशत मात्रै बढी हो । गत आवको सो अवधिमा कम्पनीले ३३ करोड ३२ लाख बढी नाफा कमाएको थियो ।
व्यापार घट्दा पनि चन्द्रागिरी हिल्सको नाफा यथावत
समिक्षा अवधिमा चन्द्रागिरी हिल्सको नाफा पनि झिनो ०.८३ प्रतिशत बढेर १० करोड ८८ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।
९ महिनामा चन्द्रागिरीको व्यापार ६३ करोड ५१ लाख रुपैयाँमा सिमित भएको छ । जबिक, गत आवको तेस्रो त्रैमासमा कुल ६९ करोड ७३ लाख बढीको व्यापार गरेको थियो । कम्पनीको व्यापार ८.९३ प्रतिशत घटेको हो । समिक्षा अवधिमा आर्थिक गतिविधि मध्यम रहेको चन्द्रागिरी हिल्सले जनाएको छ । कम्पनीका अनुसार कुल आम्दानीमा कमी देखिएता पनि नियन्त्रित खर्च प्रणाली मार्फत नाफामा स्थिरता सहितको वृद्धि कायम राखिएको छ ।
कालिञ्चोक दर्शनको व्यापारमा उच्च वृद्धि, नाफामा गिरावट
कालिञ्चोक दर्शनको व्यापारमा सबैभन्दा उच्च वृद्धिदर देखिएको छ । कम्पनीको व्यापारमा ७१८.१६ प्रतिशत बढेर ५ करोड ६२ लाख ९० हजार रुपैयाँ कायम भएको छ । जबकि, गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले ६८ लाख ८० हजार रुपैयाँ बराबरको मात्रै व्यापार गरेको थियो । तर, नाफा भने २५.२७ प्रतिशत घटेर १ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।
ओरियण्टल होटल :घट्दो व्यापार- घट्दो नाफा
ओरियण्टल होटलको नाफा पनि ३२.१६ प्रतिशत घटेर ४ करोड ४७ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । ९ महिनामा होटेलको व्यापार ७५ करोड १६ लाख रुपैयाँ बराबरको देखिएको छ । ओरियण्टलको व्यापारसँगै नाफामा पनि गिरावट आएको हो । कम्पनीको व्यापार ८.३ प्रतिशत घटेको छ ।
सिटी होटलको व्यापारमा गिरावट, नोक्सानी झन् बढ्यो
सिटी होटलको अवस्था अन्य होटेलहरूको तुलनामा कमजोर देखिएको छ । कम्पनीको व्यापार १०.७८ प्रतिशतले घट्दै ३७ करोड ५४ लाख रुपैयाँमा सीमित रहेको छ । नोक्सानी भने १३ प्रतिशत बढेर १७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको नोक्सानी १५ करोड ३७ लाख रुपैयाँ थियो ।