नेपाल एयरलाइन्सका दुई वटा ट्वीनअटर पुनः नियमित उडानमा, दैनिक ४ उडानको तयारी « Arthapath.com
१ जेष्ठ २०८२, बुधबार

नेपाल एयरलाइन्सका दुई वटा ट्वीनअटर पुनः नियमित उडानमा, दैनिक ४ उडानको तयारी



काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुईवटा ट्वीनअटर विमान पुनः नियमित उडानमा फर्किएका छन् ।

निगमका अनुसार ‘कलसाइन नाइन एन–एबिटी’ र ‘नाइन एन–एबीयु’ – पुनः नियमित आन्तरिक उडानमा फर्किएका हुन् ।

दुवै विमान पूर्ण रूपमा सञ्चालनमा ल्याइकउो निगमले जनाएको छ । विशेषगरी दुर्गम क्षेत्रका नागरिकहरूलाई सहज, सुलभ र मितव्ययी हवाई सेवा प्रदान गर्ने अपेक्षा गरिएको निगमले जनाएको छ ।

निगमको विज्ञप्तिमा भनिएको छ, ‘गुणस्तरिय सेवा र सुरक्षालाई प्राथमिकता दिँदै आन्तरिक उडान सञ्चालनमा प्रतिबद्ध छौं ।’

निगमले दुवै विमानमा नियमित मर्मतसम्भारको काम नियमनकारी निकाय र विमान निर्माता कम्पनीको मापदण्डअनुसार सम्पन्न गरिसकेको जनाएको छ । साथै, दुबै विमानमा नयाँ इञ्जिनसमेत जडान गरिएको छ ।

दुर्गम भेगसम्म हवाई सेवा पु–याउने उद्देश्यले चालिएको उक्त कदमले स्थानीय जनताको जीवनयात्रामा सहजता ल्याउने विश्वास निगमले व्यक्त गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आन्तरिक उडानहरूलाई अझ प्रभावकारी बनाउने योजना अनुरुप काम भइरहेको बताए । उनले भने,‘प्रत्येक ट्वीनअटर विमानबाट दैनिक न्यूनतम चारवटा उडान भर्ने लक्ष्य राखिएको छ । यसलाई कार्यान्वयन गर्न तालिकागत ढाँचामा उडान सञ्चालन गरिनेछ ।’

यसका साथै बजारमा निगमको प्रभावकारी उपस्थिति जनाउने गरी सम्बद्ध विभागहरूलाई निर्देशन दिइसकिएको अध्यक्ष अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्