भरतपुर–काठमाडौं उडानमा बुद्ध एयरको एटीआर–७२, सफल होला परीक्षण ? « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

भरतपुर–काठमाडौं उडानमा बुद्ध एयरको एटीआर–७२, सफल होला परीक्षण ?



काठमाडौं । भरतपुर विमानस्थलमा बिहीबार बिहान केही फरक माहोल देखियो। बुद्ध एयरको ७२ सिटे ठूलो एटीआर–७२ जहाज पहिलोपटक काठमाडौंबाट परीक्षण उडान गर्दै बिहान ९ः३४ बजे अवतरण भयो।

भरतपुरको सानो धावनमार्गमा ठूला पंख फैलाएर अवतरण गर्दा विमानस्थलको दृश्य केहीबेरका लागि रोमाञ्चक बन्यो । उक्त जहाँज क्याप्टेन प्रमोद थापा र रवि श्रेष्ठले उडाएका थिए ।

अहिलेसम्म बुद्ध एयरले भरतपुरमा ४७ सिटे एटीआर–४२ जहाज मात्र उडाइरहेको थियो, तर तीमध्ये एउटा जहाज आगामी सेप्टेम्बरपछि सेवा दिन नसक्ने भएपछि कम्पनीले विकल्पको खोजीमा एटीआर–७२ को परीक्षण थालेको हो।

भरतपुर विमानस्थलको धावनमार्ग १२०० मिटर मात्र लामो छ। यसले ठूला जहाजको नियमित सञ्चालनमा चुनौती पु¥याइरहेको छ। मौसम र तापक्रमका आधारमा यात्रु संख्या घटबढ हुन सक्ने भए पनि, प्रारम्भिक अनुमान अनुसार भरतपुर–काठमाडौं उडानमा जहाजले ५० देखि ६२ यात्रु सजिलै लैजान सक्ने देखिएको छ।

हाल बुद्ध एयरले दैनिक ७ वटा काठमाडौं–भरतपुर तथा १ वटा पोखरा–भरतपुर उडान सञ्चालन गर्दै आएको छ। सन् २००५ देखि यो मार्गमा सेवा दिँदै आएको बुद्ध एयरले हाल मासिक ११ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ।

उता, श्री एयरले पनि अघिसम्म ८० सिटे जहाजमार्फत भरतपुर उडान गर्दै आएको थियो। तर, पछिल्लो एक महिनायता श्री एयरको सेवा स्थगित छ।

यदि परीक्षण सफल भयो भने, भरतपुर–काठमाडौं मार्गमा यात्रुहरूले छिट्टै अझ ठूला र सहज विमान सेवाको अनुभव गर्न पाउनेछन्।


प्रतिक्रिया दिनुहोस्