शनिबारदेखि विराटनगरमा दुई दिने सीप उत्सव आयोजना हुँदै « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

शनिबारदेखि विराटनगरमा दुई दिने सीप उत्सव आयोजना हुँदै




विराटनगर । मानव संसाधन र रोजगार बजारबीचको दूरीलाई कम गर्दै उद्योग, तालिम प्रदायक र युवाहरूमाझ सीप समन्वयको सेतु निर्माण गर्ने उद्देश्यका साथ कोशी प्रदेशमा पहिलो पटक “सीप उत्सव २०८२” आयोजना हुने भएको छ।

उद्योग संगठन मोरङको पहलमा तथा नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सहयोगमा सञ्चालित इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा यो उत्सव २०८२ जेठ १० र ११ गते विराटनगरको तीनपैनीस्थित उद्योग संगठन मोरङको सचिवालयमा आयोजना गरिनेछ

सीप, सहकार्य र सम्भावनाको साझा मञ्च
सीप उत्सव २०८२ को प्रमुख उद्देश्य सीप विकास, दक्ष जनशक्ति उत्पादन, रोजगारीका अवसर पहिचान र उद्योग–शिक्षा सहकार्यलाई प्रवर्द्धन गर्नु हो। यो कार्यक्रम प्रदेशस्तरमै पहिलो प्रयास हो जसले उद्योग, तालिम प्रदायक संस्था, नीति निर्माता र प्रशिक्षार्थीलाई एउटै मंचमा ल्याउँदै भविष्य निर्माणको स्पष्ट दिशा तय गर्न सहयोग पुर्‍याउनेछ।

प्रतिस्पर्धा, तालिम र करियर परामर्श
उत्सवमा सूचना प्रविधि, अटोमोबाइल इन्जिनियरिङ, होटल व्यवस्थापन र इलेक्ट्रिकल विधाका प्रतिभावान प्रशिक्षार्थीहरूले अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने छन्। ७ वटा प्राविधिक शिक्षालयहरूबाट छनोट भएका १८ जना प्रशिक्षार्थीहरू “कोशी प्रदेश स्किल आइकन” को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

साथै, करिब १००० भन्दा बढी विद्यार्थी तथा युवाहरूका लागि उद्योग विज्ञहरूद्वारा करियर काउन्सेलिङ सत्र तथा प्रेरणादायी कार्यक्रमहरू पनि सञ्चालन गरिनेछ।

सीप उत्सव २०८२ ले “शिक्षा र सीप रोजगारीसँग जोडिनुपर्छ” भन्ने मान्यता स्थापित गर्दै, सीप आधारित शिक्षालाई व्यवहारिक रोजगारीमा परिणत गर्ने अभियानलाई टेवा पुर्‍याउने उद्याेग संगठन माेरङले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस्